भदौ १८ गते देशभरीका वडामा अधिवेशन गर्ने देउवा र पौडेलबीच सहमति

भक्तपुर, भाद्र १२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गरी आगामी भदौ १८ गते देशभरका स्थानीय तहका वडा तहको अधिवेशन गर्ने र पार्टी कार्यालयमा जारी अनशन तोडाउने सहमति बनेको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शनिवार बिहान भएको छलफलमा दुई नेताहरुबीच क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता सिंहले बताउनुभयो ।
सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आफु निकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पुर्ब महामन्त्री सिंहको निवासमा छलफल गरेका थिए ।
देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिहले बैठक पछि जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।
जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भइसेकेको र अरु जिल्लाको एक÷दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने भएको छ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा पनि सहमति जुटेको नेता सिंहले बताउनुभयो ।
सहमतिले पार्टी भित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रीत हुने वातावरण बनेको भन्दै नेता सिंहले सबैलाई महाधिवेशन मा केन्द्रीय रहन समेत आग्रह गर्नु भएको छ ।