नेपाली कांग्रेसका ४८ जिल्लाका क्रियाशिल सदस्यहरुको विवरण सार्वजनिक

भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । जिल्ला सभापतिहरुले क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसीरहेको बेला कांग्रेसले शुक्रवार ४८ जिल्लाको नामावली वेभसाईट मार्फत सार्वजनिक गरेको हो । नामावली कांग्रेसको वेभसाईट https://www.nepalicongress.org/ मा हेर्न सकिनेछ ।
निर्वाचन समितिले धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा सार्वजनिक गरेको हो । त्यसैगरी ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी र नवलपुरको सदस्यता सूची सार्वजनिक गरिएको छ ।
नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता सूची पनि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो । नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिनुभयो । यादवले सदस्यता सूची सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृतलाई समेत खटाइएको बताउनुभयो ।
कांग्रेसको महाधिवेशनका लागि निर्धारित कार्यतालिका अनुसार भदौ १८ गते स्थानीय पालिकाका वडा इकाइ समितिको अधिवेशन हुनेछ । कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।