एमालेसँगको एकता माओवादीको रणनीतिक योजना भएको नेता पोखरेलको खुलासा

भक्तपुर, भाद्र ११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपा (एमाले) सँगको पार्टी एकता रणनीतिक योजना अनुसार भएको खुलासा गर्नुभएको छ । बिहीवार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ को वडा भेलालाई सम्बोधन गर्दै नेता पोखरेलेले लामो समय मिलेर बस्न सकिदैन भन्ने थाहा हुँदाहुँदै उतिबेला पार्टी एकता गर्नुपरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पार्टी एकता दीर्घकालीन सोचले नभई पार्टीको रणनीतिक योजना भएको हो । एमालेसँगको एकता एउटा अल्पकालीन सम्झौता मात्र हो ।”
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली यथास्थितिवादी र प्रतिगामी भएको पहिल्यै प्रष्ट भएपनि उनी नै एमालेका अध्यक्ष भएको र उनी बिनाको एकता सम्भव नभएकाले पार्टी एकतामा ओलीलाई नेता मान्नु परेको उहाँको भनाई थियो । “ओलीसंग लामो समय संगै जान सकिदैन भन्ने थाहा थियो तर, परीवर्तनको रक्षा र संविधानको कार्वान्वयन गर्न एमाले भित्रका क्रान्तिकारीहरुको साथको आवश्यकताले गर्दा पार्टी एकता एक अपरिहार्य अवस्था थियो,’’ नेता पोखरेलले प्रष्ट पार्नुभयो ।
एमाले अध्यक्ष ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी सामानुपातिक प्रणाली, आर्थिक सामाजिक रुपान्तरण र संविधान कार्यान्वयनका बिरोधी भएको कुरा एमालेका नेता कार्यकर्तालाई बुझाउन पार्टी एकता उत्तम बिकल्प बनेको उहाँले दावी गर्नुभयो ।
सरकारले दल सम्बन्धमा ल्याएको अध्यादेश संविधान रक्षाको लागि भएको जिकिर गर्दै नेता पोखरेलले अध्यादेश नेकपा(एमाले)लाई फुटाउन नभई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन र निरंकुशताबाट देशलाई बचाई संविधानको रक्षा गर्न ल्याइएको बताउनुभयो ।
“हतियारले अर्कालाई हान्दै हिँडे त्यो नाशक हुन्छ तर आफ्नो आत्मसुरक्षाको लागि प्रयोग गरे त्यो रक्षक बन्छ । अहिलेको अध्यादेश नाशक होइन, रक्षक हो । संविधानको रक्षाको लागि अध्यादेश ल्याउनुको बिकल्प सरकारसँग भएन, ’’ उहाँले भन्नुभयो ।
उहाँले बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा एमालेका क्रान्तिकारीहरु ओलीबाट अलग्गीनु पार्टी एकताको उपलब्धी भएको दावी समेत गर्नुभयो ।


नेता पोखरेलले विद्रोही शक्ति राजनीतिको मूख्य नेतृत्वमा रहेको विश्वकै बिरलै घटना नेपालमा भएको भन्दै यसलाई विश्व राजनीतिले नियालिरहेको बताउनुभयो । माओवादी केन्द्रमाथि देशीबिदेशी प्रतिक्रियाबादीको आँखा पर्नुका कारण यही भएको उहाँको भनाइ थियो । पछिल्लो समय आफूहरुले बलियो कम्युनिष्ट पार्टी बनाउन खोज्दा उल्टै ओलीलाई प्रयोग गरी आफूहरुलाई सिध्याउने दुस्प्रयास गरिएको उहाँले आरोप लगाउनुभयो ।
एमालेको ओली पक्षसँग मतभेद हुनुमा उनी सच्चा कम्युनिष्ट नरहेको तथा उनको प्रतिगामी र निरकुंश बन्न खोज्ने महत्वकांक्षा कारक रहेको भन्दै नेता पोखरेलले ओलीको कथित राष्ट्रबादको खोल खुस्किसकेको र उनी जनतामाझ नांगीसकेको बताउनुभयो । ”अब सच्चा कम्युनिष्टहरुको केन्द्र बनाएर राष्ट्रवाद, जनतन्त्र र जनजीविकाको पक्षमा सशक्त ढंगले लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।
नेता पोखरेलले एमसीसी नेपालको सार्वभौमिकतामाथि चुनौती भएको समेत प्रष्ट पार्नुभयो । उहाँले एमसीसी नेपाललाई सहयोगको निँहुमा चीन हान्ने अमेरिकी योजना भएकोले यसले नेपाललाई युद्धभूमि बनाउने खतरा रहेको र आफूहरु एमसीसीको बिरोधी भएको बताउनुभयो ।
ओलीले एमसीसी पास गर्न खोज्दा पार्टी विभाजन भएको र उनी पदच्युद समेत हुनुपरेको प्रसँग उल्लेख गर्दै उहाँले वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि देशलाई घात हुनेगरी एमसीसी पास गर्न नदिने आफूहरुको अडान यथावत रहेको स्पष्ट पार्नुभयो । उहाँले एमसीसीको बिरोध गर्दा आफना नेता एवं निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सुनियोजित तरीकाले फसाएर सभामुखबाट हटाइएको र वर्तमान सभामुखलाई समेत अनेक धम्कीहरु आइरहेको दावी गर्नुभयो ।
स्थानीय नेता गुणकृष्ण श्रेष्ठको अध्यक्षतामा संचालित नगरसभामा पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, अध्यक्ष डिपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा नगर अध्यक्ष विजय श्रेष्ठलगायतले माओवादीको ठुलो बलिदानीबाट प्राप्त परीवर्तनको रक्षाको जिम्मेवारी बहन गर्न माओवादीहरु बलियो रहिरहनुको विकल्प नरहेको बताउँदै सशक्त संगठन निर्माणमा जोड दिनुभयो ।
सो अवसरमा प्रदिप श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय मध्यपुर थिमि वडा नं. ४ वडा कमिटी र सुशील श्रेष्ठको नेतृत्वमा वडाको २३ सदस्यीय वाइसिएल कमिटी समेत निर्वाचित गरिएको नगर संयोजक विजय श्रेष्ठले बताउनुभयो ।