कांग्रेसको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्न माग

काठमाण्डौं, भाद्र १०
प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको आज (बिहीबार) साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले आफूहरु महाधिवेशनको विरोधी नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले महाधिवेशन भाँड्न खोजेको होईन । हामीले सभापतिहरुले पटक–पटक मिटिङ गर्ने काम गर्यौं । नेताहरुलाई विशेष महाधिवेशन गरौं भन्यौं, अर्ली महाधिवेशन गर्ने हो भनेपनि गरौं भन्यौं, पछि टाईम्ली महाधिवेशन गरौं भन्यौं । हामीले विगत तीन वर्षदेखि यो कुरा भन्दै आयौं, सुझाव दिँदै आयौं । तर, नेतृत्वले हाम्रो कुरा सुनुवाई गरेन । अहिले हामी धर्नामा छौं । हाम्रो विचार ८ लाख ५० हजार क्रियाशिल सदस्यहरुको विचार हो । धर्नामा बस्दापनि पार्टीले हाम्रो मागको सुनुवाई गरेन । हिजोदेखि हामी निरन्तर धर्नामा छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले पार्टीले तत्काल क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदाताको नामावाली सार्वजनिक हुनुपर्छ, आजसम्म मतदाता को हो भन्ने कुरा थाहा छैन् । मेरो नाम छ कि छैन ? मलाई थाहा छैन् । क्रियाशिल सदस्यता सार्वजनिकीकरण गरिदिनुहोस भन्यौं । जिल्लाबाट विधिसम्मत् रुपमा क्रियाशिल टुँगो लगाएर पठाएको विषयमा पनि केन्द्रबाट प्रविधिको दुरुपयोग गरेर नाम हालिएको छ भन्ने कुरा आएको छ, यदि हो भने त्यो सच्याउनुपर्छ ।’
त्यसरी नाम सच्याउँदा दाबी÷विरोध गर्ने र सच्याउने मौका दिनुपर्ने पनि आफूहरुको अर्को माग रहेको केसीको भनाई छ । उहाँले आफूहरुले अघि सारेका तीन बुँदे माग आम नेपाली कांग्रेस पक्षधरको आवाज भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले रिले अनशनमा बसेका छौं । यो कुरालाई कसले उचित र कसले अनुचित भने भन्ने कुरा ठूलो होईन, हामी अधिवेशन भाँड्ने होईन । निर्धारित मितिमा पार्टीको महाधिवेशन भएन । कांग्रेसको वैधानिकता बचाउने कुरा सभापतिले हो । उहाँलाई जिम्मा दिएका छौं । नेतृत्वले कलंक व्यहोर्नुपर्छ । अहिले अधिवेशन गर्न नचाहने भनेको अहिलेको नेतृत्व नै हो । हामीले पटक–पटक अधिवेशन र विशेष अधिवेशन गर्न माग गर्दा उहाँले चाहनुभएन । आजसम्म क्रियाशिल सदस्य को हो ? भन्ने कुरा थाहा छैन् ।’
उहाँले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकको समितिले बुझाएको क्रियाशिलको प्रतिवेदनमा सैद्धान्तिक र नीतिगत रुपमा मात्रै सहमति गरेकोले व्यवहारिक रुपमा समाधान हुनुपर्ने धारणा राख्नुभयो ।


रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशिल सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘मतदाता नामावाली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली प्रकाशनपछि मात्रै अधिवेशनको सुरुवात गर्नुपर्छ । मेरो रामेछापमा क्रियाशिल विवाद छैन् । आज बन्द कोठामा राखेर क्रियाशिल सदस्यता पठाउने भन्ने कुरा पनि आएको छ, तर यो कुरा हामी मान्दैनौं ।’
उनले आफूहरु अधिवेशनको विरोधी नभएको पनि जिकिर समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी अधिवेशनको कुनैपनि हालतमा विरोधी होईनौं, अहिले र भोलिपनि अधिवेशन गर्न जान्छौं ।’


त्यस्तै धादिङका सभापति रमेश धमलाले क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै आफूहरु पार्टीको हितमा नै केन्द्रित भएर लागेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाबाट सिफारिश भएअनुसार क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्छ । वैधानिक दृष्टिकोणमा कांग्रेस अप्ठ्यारोमा छ । यो विषय आम कार्यकर्ताको बीचमा उठेको छ । हामी पार्टी जोगाउन चाहन्छौं । यो पार्टी नेतृत्वमा रहनेहरुको मात्रै होईन । यो पार्टीलाई आशाको केन्द्र बनाउनुपर्छ । यो अभियानमा काम गरेका छौं ।’
उहाँले पार्टीको आन्तरिक लोकतन्त्रको दृष्टिकोणमा पनि कांग्रेस सक्षम, योग्य र जनताले भरोसा गर्न योग्य बनाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्वले अहिले हाम्रो महाधिवेशनको अधिकार कुण्ठित गर्नुभयो । विधानको व्यवस्था खारेजी गर्नुभयो । बाध्य भएर रिले अनशनमा बसेका छौं । नेताहरुसँग हाम्रो समस्या समाधान गर्ने सामथ्र्य छ । उहाँहरुले छिटोभन्दा छिटो समाधान गर्नुहोला ।’