मध्यपुर थिमिको एक गेष्ट हाउसमा होक्स बम फेला

भक्तपुर, भाद्र ६
भक्तपुरको मध्यपुर थिमि–४ स्थित एक गेष्ट हाउसमा शनिवार राती होक्स बम फेला परेको छ । शिवशरण भुजुले सञ्चालन गरेको दिव्यश्वरी गेष्ट हाउसको पहिलो तलको कोठा नं. ४ मा सो होक्स बम फेला परेको हो ।
बमलाई शनिवार राती नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
घटना विवरण अनुसार भाद्र ५ गते करिव सत बजे दिव्यश्वरी गेष्ट हाउसको कोठा नं. ४ मा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तस फेला परेको थियो ।
तत्कालै घटनास्थलमा महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मी सहिको अनुसन्धान टोली घटना स्थल पुगेको थियो । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोली समेत झिकाई राती साढे १० बजे शंकास्पद् बस्तुलाई निस्कृय पार्दा सो वस्तु होक्स बम भएको पुष्टि भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । ‘शंकास्पद वस्तुमा बिष्फोटक पदार्थ फेला परेन। उक्त कुकर भित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाईयो,’ प्रनाउ गिरीले भन्नुभयो ।
घटनाको अनुसन्धानको क्रममा बम राखेको अभियोगमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–२, डाडाँगाउ स्थायी घर भएका ३२ वर्षिय नबिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ गत साउन ३२ गते देखी उक्त गेष्ट हाउसको कोठा नं. ११० मा बस्दै आएका थिए । आफुलाई बुद्ध चित्रको माला बेच्ने भन्दै दिव्यश्वरी गेष्ट हाउसमा बस्दै आएका तामाङले खाएको र कोठाको भाडा समेत गरी ४० हजार पुगेपछि गेष्ट हाउसका सञ्चालक भुजुले पैसा माग्दा उनलाई तसार्उन तामाङले होक्स बम राखेको खुल्न आएको प्रनाउ गिरीले बताउनुभयो ।
तामाङलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।