–नारायणप्रसाद सुवेदी
मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने त्यो पात्र नै आमा हो । आमाले सन्तानहरूलाई दिने माया र त्यसैका कारण उठाएको दुःख कष्ट, भोगेको मान अपमान तथा कतिपय जोखिमहरू सबै अमूल्य छन् । त्यसको बदलामा आमालाई केही दिएर चुकाउँछु भनेर यदि कुनै सन्तानले भन्छ भने त्यो जति महामूर्ख सायदै यस संसारमा भेटिएला । गर्भावस्थामा राख्दा होस् या प्रशव पीडामा छटपटाइ रहँदा होस् ‘सबै पीडा र व्यथाहरू सन्तानकै खाँतिर गरेंँ र मैले जे गरेँ गर्नुपर्ने भएर गरेँ, भोग्नुपर्ने भएर भोगेँ, यो मेरो कर्तव्यको अभिन्न अंश हो’ भनेर खुसी मनले स्वीकार आमाबाहेक यो दनियाँमा अरू कसले गर्न सक्ला ?
अहिलेको संसार व्यापारीहरूको संसार हो । सबैले यहाँ नाफा र घाटाको हिसाब किताब गरेर मानिसहरू बसिरहेका छन् । जुनसुकै बेला पनि मानिसहरूसँग तराजु साथमा रहेको हुन्छ । जुन बेला तराजु आफूँतर्फ ढल्किन्छ अनि बल्ल त्यो काम गर्ने जाँगर निकाल्छन् । यस्तो लेनदेनको दुनियाँमा आमा भन्ने एक पात्र र शब्दसमेत अमूल्य र व्यापक छ । यही मूल मर्मलाई आत्मसात गरेर नै लेखक खगराज बरालले यस उपन्यासमा आमासँगका अनुभूतिलाई अविरल बगाएका छन्, यही बगाइमा नै सकिएको छ ‘स्यानी’ ।
आमाको मृत्युपश्चात गरिने संस्कारको दौरानमा नै रहँदा पहिलो दिन देखि तेह्रौं दिन सम्मलाई प्रतिनिधित्व गर्ने गरी १३ अध्यायहरू बनाइएका छन् । तेह्र दिने किरिया कर्मका बेला मनमस्तिष्कमा सिर्जना भएका विचार र ओतप्रोत भएका भावनाहरू यसमा मुखरित भएका छन् । यो ‘स्यानी’ उपन्यासको विजारोपण त्यही बेला नै भएको रहेछ । त्यही विजलाई भु्रणको आकार पाएपश्चात उपन्यासको रूपमा धर्तीमा जन्मिन पनि लामो समय नै लागेछ भन्नु पर्छ । बाल्यकालका प्रतिबिम्बहरू एक एक गरी उछालिएर आएका छन् । त्यस बेलाका बाल मनोभावनाका सामान्यभन्दा सामान्य कुराले मनमस्तिष्कमा हुने मथिङ्गल जस्ताको त्यस्तै उपन्यासमा उतारिएको छ । भाषा समेत आफ्नो जन्मस्थानको सेरोफेरोको नै प्रयोग भएको छ, चाहे आफ्नो परिवारको होस् चाहे यस उपन्यासको कथाले मागेअनुसारका पात्रहरूको होस् । त्यसैले पनि यस क्षेत्रका मानिसका लागि यो आफँैले बोलेको र आफ्नै बाल्यकालमा घटेका घटनाहरूसँग दाँजेर हेरिने र बाल्यकालको सम्झना आउने खालका घटनाहरू भएकाले म अहिले पनि त्यही अवस्थामा छु जस्तो लागिरहन्छ । म यो ‘स्यानी’ उपन्यास पढेर मनोरञ्जन पनि गरेँ र भावनामा पनि धेरै बगेँ, लेखकले भने जस्तै गरी झल्याँस्स बिउँझिएँ ।
उपन्यास पढ्दै जाँदा लेखकले गरुड पुराणका विभिन्न प्रसङ्ग उल्लेख गरेका छन् । पुराणहरू यत्तिकै लेखिएका पक्कै पनि होइनन् । पुराण लेखिँदाको समयमा यससम्बन्धमा प्रशस्त बहस भएको हुनुपर्छ । पुराणहरू पौराणिक र आर्षकालका उपज हुन् । त्यस समयको विषयवस्तु वर्तमान समाजमा हुबहु उपयोग हुन पक्कै सक्दैन तर पुराणमा उल्लेख भएका समाजका हितका विषयलाई भने उपयोग गर्न सकिन्छ भन्ने मान्यता उपन्यासमा पाइन्छ । पुराणका कथा र दृष्टान्तका माध्यमबाट समाजमा केही अनुशासन कायम गर्न सकिन्छ । यसलाई आवश्यकता, स्थान र समयअनुसार प्रोत्साहन गर्न आवश्यक छ । धार्मिक संस्कारमा बैज्ञानिक कारणहरू छन् । बिना अनुसन्धान र बिना निष्कर्ष पुराणमा वर्णित कथा र दृष्टान्तलाई अन्धविश्वासको लेप लगाएर यस्ता व्यावहारहरूलाई छोड्दै आएका छौं । सदाचार र अनुशासनमा बस्ने हो भने समाजमा व्यभिचार, भ्रष्टाचार र कुशासन हुँदैनथ्यो भन्ने सन्देश मिल्दछ । सद्मार्गमा नहिँड्दा हाम्रो समुदायलाई नै घाटा भएको छ भन्ने सन्देश गरुड पुराणका अंश अंश उल्लेख गरेर त्यसको सन्देश दिन लेखक सफल रहेको देखिन्छ । आख्यानकै बीचमा एक पात्र नौली आमै देखिन्छिन् । वास्तवमा नौली आमै निकै आँटिली र जाँगरिली रहिछन् । सर्प घरमा पस्दा पनि नडराइकन बाहिर निकाल्ने प्रयास गर्छिन् । त्यहाँ एउटा गालीको वाक्य पनि छ ‘तेरो निराजो पर्ना’ । त्यहाँको समुदायमा प्रचलित यो शब्द नौलो लाग्यो तर कथाअनुसार रिस उठ्दा कसैलाई गाली गरेको भन्ने आशय बुझ्न कठिन भएन ।
लेखकले उपन्यासको हरेक अङ्कमा सुरुतर्फ संस्मरणका कुराहरूमा खेलेका छन् । त्यसलाई आफ्नो भावनामा लगेर अन्तिममा आमासँगै जोडेका छन् । आफ्ना लागि आमाले गरेका सबै योगदान र दिएको माया ममतालाई एकातिर राखेर त्यति गरेकी आमालाई मैले केही पनि दिन सकिनँ भन्ने अनुभूति व्यक्त गरेर हरेक अङ्क टुङ्गिएको छ । पाँचौं अङ्कको अन्त्यमा ‘मलाई बचाउन दौडिएर भिरस्वाँरा पुग्ने आमालाई मैले भने केही गर्न सकिनँ’ भनेर म पात्रले आँखाबाट आँसु झरिरहेको अभिव्यक्ति एउटा उदाहरण हो ।
यसरी सरसर्ति हेर्दा ‘स्यानी’ उपन्यास जननीप्रति एक सन्तानको अगाध आस्था र विश्वासका साथ गरिएको मायाको समर्पण हो । कतिपय अधुरा सपनाको प्रतिबिम्ब पनि हो भने अन्तर्आत्मादेखि प्रष्फुटन भएको ममताको अभिव्यक्ति पनि हो । यसमा काल्पनिक कुराहरु गुँथिएको पाइन्न । लेखकले कतिपय पात्र काल्पनिक हुन् भने पनि जे जति घटनाक्रमहरू छन् ती सबै यथार्थ नै छन् । यस्ता घटना उपन्यासका म पात्रले भोगेका होलान् कि समुदायका अन्य व्यक्तिले भोगेका होलान् ।
स्वभाविक अभिव्यक्तिका रूपमा गाँसिएका शब्दहरू सरल वाक्यमा सहज अडिएका छन् । वाक्य गठन सरल छ । स्थानीय जनजिब्रोको प्रयोग भएको छ । जो कसैले पनि यो पढिरहँदा फेरि के भएको होला भन्ने कौतुहलता रहिरहने गरी सबै अङ्क नसकिउन्जेल विश्राम लिन मन मान्दैन । उपन्यासका हरेक विषयवस्तुले केही न केही सन्देश पनि दिएको छन् । कम्तीमा पनि हाम्रा साँस्कृतिक धरोहरहरूलाई पछ्याइ रहँदा धेरै फाइदाहरू समाजले पाएको रहेछ । यसलाई जानी नजानिकनै पनि व्यवहार गर्दा बेफाइदा पनि त केही थिएन । समुदायमा अनुशासन थियो, मर्यादा थियो, मूल्य पनि थियो तर त्यही संस्कार र संस्कतिलाई अन्धविश्वास र कथित अविकसित समाजको उपज ठानेर धुलिसात पार्दा अहिले समाजमा मानवीयताको समेत खडेरी परेको छ । नैतिकता र सच्चरित्रता कुन चराको नाउँ हो जस्तो भएको छ । त्यसैले संस्कार र संस्कृतिलाई निरन्तरता दिऔं र पुस्तान्तरण गरौं भन्ने खालको सन्देश लेखकले यस उपन्यासमार्फत दिएको पाइन्छ ।
‘स्यानी’ उपन्यासको महत्त्वपूर्ण पक्ष यसको वास्तविक कथा हो । यो कुनै एकादेशबाट सुरु भएको कथा होइन । यो कुनै समुदायको उदाहरणी पात्रका बारेका लेखिएको पनि होइन । उपन्यासका पात्र सामान्य छन् । घटना सामान्य छन् । लेखक आफैँ पात्र पनि बनेका छन् । यो उपन्यास बीचबाट सुरु भएको छ र बीचबाटै टुङ्गिएको छ । यो उपन्यासको कथा काल्पनिक पनि छैन । काल्पनिक र तिलस्मी कथाका आधारमा लेखिने उपन्यासभन्दा यो भिन्न हुनु नै यसको विशेषता हो । कुनै बैशालु युवतीको कथा होइन ‘स्यानी’, कुनै युवतीको रोमाञ्चित वर्णनमा घुमेको छैन स्यानी । अनावश्यक प्रकृति वर्णनमा अल्मलिएको छैन ‘स्यानी’ । स्यानी उपन्यासमा वास्तविक पात्र छन्, वास्तविक समाज छ, वास्तविक बोली लवज छ, वास्तविक रहनसहन छ, वास्तविक ठाउँ विशेष छ । समाजमा घटेका र घट्ने घटनामा आधारित छ । दैनिक जीवनमा घट्ने घटनालाई आधार बनाएर पनि उपन्यास लेखिन्छ भन्ने उत्कृष्ट नमुना हो ‘स्यानी’ । यति मात्र होइन, आँचालिकताको अति उत्कृष्ट उदाहरण बनेको पनि छ ‘स्यानी’ ।
कुनै पनि कुरा यो संसारमा आफैँमा पूर्ण छैन । विज्ञानले स्वीकार गरेको यो सत्यता यसमा पनि लागू हुन्छ । उपन्यास पढ्दा तेस्रो कोही व्यक्तिलाई पात्रको रूपमा उभ्याउँदा केही थप थाप र आख्यानलाइ रोचक पार्न फुर्र्का गाँस्न सकिने हुँदो रहेछ । समाजका अरू पक्षलाई पनि उजागर गर्ने गरी थप सन्देश तथा मनको भावना पोख्न पाइने हुँदोरहेछ तर आफैँ पात्र बनिरहँदा त्यसमा सहज रूपमा थप भावना सिर्जना गर्न कठिनाइ हुँदोरहेछ । त्यसैले तेस्रो पात्र खडा गरेर लेखेको भए यसको रौनकता अझ बढ्ने थियो होला भन्ने मलाइ लागेको छ ।
आमालाई स्नेह गर्ने र आमाको ममताको बारेमा गहिरिन चाहनेका लागि ‘स्यानी’ उपन्यास पठनीय छ । शोक उपन्यास भएकाले मन अलि दह्रो बनाएर पढ्नुपर्ने हुन्छ । एकपटक ‘स्यानी’ पढेर आफ्नो बाल्यकाल र आमालाई सम्झिने हो कि !