भक्तपुरको दुधपाटीमा नेपाल बैंकको काउन्टर सञ्चालन

भक्तपुर, भाद्र १
नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा आजदेखी सेवा बिस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैं दुधपाटीमा काउन्टर स्थापना गरी नेपाल बैंकले सेवा बिस्तार गरेको हो ।
सो काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख प्रजापतिले विदेशी लगानी र नीजि क्षेत्रको बैंक भन्दा भरपर्दो सरकारी स्वामित्वको बैंकमा कारोवार गर्नु बढी सुरक्षित हुने बताउनुभयो । उहाँले विदेशी लगानी भएका बैंक धेरै भएको र ती बैंकले नेपाली पुँजी विदेश लगिरहेकोले त्यस्ता बैंकलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।


विदेशी लगानीका बैंकहरुले सरकारी बैंकको संरचना ध्वस्त बनाउन विभिन्न खाले योजना र सुविधा दिने गरेको आरोप लगाउँदैं उहाँले सरकारी लगानीका बैंकहरुले पनि प्रतिष्पर्धामा जान सोही अनुसारको योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
“नीजि बैंकका प्रतिनिधिहरु घरघरमा गएर सेवा सुविधा दिने गरेका छन । सरकारी बैंकहरुले पनि त्यसतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले सरकारी बैंकहरुमा कर्मचारीका पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजश्व संकलनलगायतका सेवाहरु पनि भएको र ती सेवाहरुको चापले ढिलासुस्ती हुने गरेको जनगुनासो रहेको बताउँदैं नगरप्रमुख प्रजापतिले जनगुनासोको समयमा सम्बोधन हुन सके सरकारी बैंकको साख दिगो रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जुनसुकै क्षेत्रमा सरकार बलियो भए मात्र जनताले पनि सरल र सहजरुपमा छिटो छरिटो सेवा पाउने भएकाले बैंकिङ क्षेत्रमा पनि सरकारी बैंक बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा. कृष्णप्रसाद पोखरेलले ९ दशकको इतिहास बोकेको नेपाल बैंकको सेवा बिस्तारले भक्तपुर नगरका पश्चिम भेगका जनताले सरल र सहजरुपमा बैकिङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बैंक बागमति प्रदेश प्रमुख निरुजा श्रेष्ठले दुधपाटी काउन्टरको बिस्तारसँगै भक्तपुरमा तीन शाखा र चार वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो ।


उहाँले नेपाल बैंकले पनि नीजि बैंकसँग प्रतिष्पर्धा गर्न घरघरमा गएर सेवा दिने नीति अनुरुप आवश्यकता अनुसार सेवा काउन्टरको बिस्तारलाई अघि बढाएको जानकारी दिनुभयो । उहाँले नेपाल बैंकले देशका ७१ जिल्लामा २११ शाखा, १४७ एटिएम र ४५ वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले नेपाल बैंक देशका सबै पालिकामा पुग्ने लक्ष्यका साथ अघि बढीरहेको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दिपा पनेरुले भक्तपुरमा थप २ देखी ३ वटा शाखा बिस्तार गर्ने योजनाका साथ कार्य अघि बढीरहेको जानकारी दिनुभयो ।