मध्यपुर थिमिको निगुपुखुबाट ‘नेपाल मास्क कार्यक्रम’ शुरु

भक्तपुर, साउन ३२
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि मध्यपुर थिमि नगरपालिका र कोभिड–१९ ¥यापिड टास्कफोर्स नेपालको संयोजनमा ‘नेपाल मास्क कार्यक्रम’को शुभारम्भ गरिएको छ । ‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ मध्यपुर थिमिको निगुपुखु (दुई पोखरी)बाट सोमवार नेपाल मास्क कार्यक्रम शुभारम्भ गरिएको हो ।
काठमाण्डौं उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र फोरमका सचिव एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा स्थानीय बासिन्दा र अभियानका स्वयम् सेवकहरुलाई मास्क वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।


सो अवसरमा महानगर प्रमुख महर्जनले मास्क सही ढंगले प्रयोग गरेमा धेरै हदसम्म कोरोनाको संक्रमणबाट जोगिन सकिने बताउनुभयो । उहाँले कोरोना संक्रमणबाट बच्न खोप पछि मास्क बढी प्रभावकारी देखिएको बताउँदैं मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । “स्थानीय सरकार र जनप्रतिनिधिहरुको योगदानले धेरै जनताको ज्यान जोगाउन र कोभिडलाई करिव करिव नियन्त्रण गर्न सफल भएको छ,” उहाँले भन्नुभयो, “स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले मात्र के गर्न सक्थ्यो, कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो । जनता प्याक प्याक भएर मर्थे ।”


उहाँले स्थानीय सरकारहरुले आफुले जानेको, अन्तर्राष्ट्रिय परिस्थितीले सिकाएको, आफ्नै सिपको प्रयोग र आवश्यकता अनुसार कोरोना विरुद्धको प्रतिकार्य गरेर सफलता मिलेको बताउनुभयो ।
उहाँले पाटन दरवारस्क्वायरमा मास्क नहुनेलाई प्रवेशमा रोक लगाउँदै ‘नो मास्क नो इन्ट्री’ शुरु गरिएको जानकारी दिँदैं सार्वजनिक स्थानहरुमा यसलाई बिस्तार गर्ने बताउनुभयो ।
कोरोनाको तेस्रो लहर संघारमा रहेको आंकलन गरिएको अवस्थामा दोस्रो लहरको सिकाईबाट आवश्यक तयारीलाई चुस्टदुरुस्त राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले महानगरपालिकाको आफ्नै अस्पताल नभएपनि दुई वटा आइसोलेसन केन्द्रलाई चालु हालतमा राखेको बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बंगलादेशमा मास्क अभियानले कोरोना नियन्त्रणमा प्रभावकारी देखिएकोले नेपालमा पनि यसको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले नेपाल मास्क कार्यक्रममा मास्क निःशुल्क वितरण गर्ने मात्र नभई स्वयम् सेवकहरुले घरघरमा गएर मास्कको महत्व, यसको उचित प्रयोग विधिबारे बढीमा १५ मिनेट लगाएर सिकाउने र बुझाउने जानकारी दिनुभयो ।
“स्वयम् सेवकहरुले घरघरमा गएर मास्क किन लगाउने भन्ने बारे स्थानीयले बुझ्ने गरी काम गर्नेछ,” उहाँले भन्नुभयो । उहाँले बंगलादेशमा निर्माण गरिएको तीन पत्रे, २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क वितरण गर्ने तयारी भएपनि हाललाई बंगलादेशबाटै आएको ४ लाख डिस्पोजेबल मास्क मार्फत अभियानको शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्ने जानकारी दिनुभयो ।


उहाँले कोरोना नियन्त्रणका तीन प्रमुख उपाय मध्ये पहिलो खोपको उत्पादन शुरु भएपनि सबैको पहुँचमा पुग्न समय लाग्ने, दोस्रो उपाय बन्दाबन्दी तथा निषेधाज्ञा भएपनि यो बढी पिडादायी, खर्चालु र अर्थतन्त्रले धान्न नसक्ने भएकाले तेस्रो मास्कलाई प्रभावकारीरुपमा लग्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लड्दै, बुझ्दै र जोगिँदै सजिलो, सस्तो र व्यवहारिक पनि भएकोले मास्कलाई सही ढंगले प्रयोग गर्ने बारे जनचेतना फैलाउन आवश्यक छ ।” उहाँले कोरोनाको तेस्रो लहरबाट नजोगिएसम्म मास्क अभियान जारी राख्ने बताउनुभयो ।
उहाँले कोरोनाको तेस्रो लहरको प्रतिकार्यका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २५ शैयाको एचडिओ, १५ शैयाको आइसियु, ६ शैयाको पेराटिक आइसियु र १० शैयाको भेन्टिलेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले अनुगमनको क्रममा सर्वसाधारणहरु मास्क हातमा, गोजीमा र चिउँदोमा लगाउने गरेको पाईएको र एक सय रुपैंया जरिवाना गरेर सचेत बनाएको बताउनुभयो । उहाँले मास्क सही तरिकाले लगाउन सिकाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, नेपाल मास्क सहयोगी अमेरिकी संघसंस्थाका प्रतिनिधिहरु रोशनराज श्रेष्ठ, प्रिति अधिकारी, सवुना घलानलगायतले मास्कको महत्व र यसको प्रयोगका बारेमा चर्चा गरेका थिए ।