शासन विधि र पद्धतीमा आधारित भएर चल्नुपर्छ – नेता सिंह

भक्तपुर, साउन २७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतीमा आधारित भएर चल्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारको भवन बुधवार उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थमा भन्दा माथि उठेर कानुन, विधि र पद्धतीमा रहेर शासन गर्नुपर्ने बताउनुभएको हो ।
ओलीले पटक पटक विधि पद्धती मिच्ने र कानुन भन्दा माथि छु भन्ने दम्भ र अहंकारले नै सत्ताबाट बहिर्गमन गर्नु परेको नेता सिंहको भनाई थियो । उहाँले भन्नुभयो, ‘कानुन भन्दा माथि कोही हुन्न । ओलीले पटक पटक जनताको प्रतिनिधिमूलक थलो संसद विघटन गर्नुभयो । विधिको शासन उलंघन गर्नुभयो । ओलीको बालुवाटारबाट बालकोट बसाई सराईले दिएको सन्देश यही हो ।’


उहाँले सरकारले कोरोना विरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताउभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला शुरुवात गर्नुपर्छ ।’
उहाँले जनप्रतिनिधिहरुले जनतालाई केन्द्रविन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुले जनतलाई विश्वासघात गर्नुहुन्न । जनतानै सर्वोपरी हो भन्ने ध्यान दिनुपर्छ ।’


उहाँले जनप्रतिनिधिहरु साझा व्यक्तित्व भएकाले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । ‘जनप्रतिनिधिहरुले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिन्ह लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो । तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिको रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न,’ उहाँले भन्नुभयो ।
उहाँले स्थानीय सरकार प्रभावकारी भए मात्र जनताले सुविधा पाउन सक्ने बताउनुभयो । कोभिड महामारीका बेला स्थानीय जनप्रतिनिधहरु अहोरात्र जनताको सेवामा खटिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिएपनि नगरको सडक, ढल, सरसफाई र व्यवस्थित बसोवासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरपालिकाको नारा अनुसार सम्पदा संरक्षणको काम अघि बढेको छ । यसले बढी चर्चा पाएकोले नगरपालिकाले सम्पदा संरक्षणको मात्रै काम गरेको हो की भन्ने बुझाई पनि छ । तर नगरपालिकाले ढल, सडक र सरसफाईमा समेत विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।’
उहाँले कतिपय अवस्थामा योजना स्विकृत भई कार्यान्वयनको चरणमा पुगेर विवाद हुँदा केही योजनाले गति लिन नसकेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवम् मध्यपुर थिमि नगरप्रमुखका प्रत्यासी अष्ट कवेले नगरपालिकाले मध्यपुर थिमिका जनतालाई प्रमुख प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप व्यवस्थापनमा थप जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले नगरपालिका कार्यालय जाने सडकको अवस्था दयनीय रहेको बताउँदैं भन्नुभयो, ‘त्यहाँको बाटोको समस्या र विवाद के हो पहिचान गरी छिटो भन्दा छिटो समाधान गरेर बाटोको निर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्छ ।’


नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरका पुराना बस्तीमा मौलिक शैलीको संरक्षणका लागि बाटोमा ढुंगा छाप्ने कार्य अघि बढाएको र नयाँबस्ती क्षेत्रमा सडकलाई कालोपत्रे गर्ने कार्य अघि बढाएको जानकारी दिनुभयो ।
वडा नं. २ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापा मगरले नगरका ४ र ८ बाहेकका वडाहरुको भवन निर्माण कार्य अघि बढाईएपनि विविध कारणले केही वडा भवनको काममा ढिलाई भइरहेको जानकारी दिनुभयो ।
वडा नं. ३ का वडाअध्यक्ष प्रेमबहादुर कुटुले वडाको सुविधा सम्पन्न नयाँ भवनबाट जनतालाई छिटो छरिटो र सरल रुपमा सेवा उपलब्ध गराउन वडा कार्यालयलाई थप प्रविधिमैत्री बनाईने जानकारी दिनुभयो ।


सो अवसरमा कोरोना भाइरस विरुद्धको अभियान आर्थिक र भौतिक सहयोग गर्ने भानुप्रसाद आचार्य, सन्तोष भट्टराई, केशव बहादुर पौडेल, निमेश आचार्य, ह्वाईट प्यालेस बैंक्वेट, नागरिक विकास वचत तथा ऋण सहकारी, हेल्दी हार्ट क्लिनिक, क्षमादेवी ग्रुप प्रा. लि., सामूदायिक प्रहरी गट्ठाघर, प्रेरणा काष्ठ उद्योग, मोहन शर्मा, भगवती अधिकारी, नवदुर्गा मन्दिर समितिलगायतका संघसंस्था र व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो ।