लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन । दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदि किनारमा लगेर दहन गरेका थिए ।
गथामुंगः बनाउन बिहानैदेखी टोलटोलका स्थानीय सामूहिकरुपमा जुटेका थिए । हरियो नर्कट ल्याउन, परालको विभिन्न प्रकारका गहना र डोरी बाट्न, मुखाकृत सिंगार्न, कपडाका विभिन्न प्रकारका आकृति बनाउन महिला, केटाकेटी, तन्नेरी र बृद्धबृद्धाहरु गच्छे अनुसार एकसाथ जुटेका थिए ।
वर्षको चारवटा प्रमुख चतुर्दशी मध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकोले यसलाई नेवार समूदायको मौलिक पर्वको रुपमा लिने गरेको छ । घर र परिवारलाई भुतप्रेत नलागोस् भनेर मनाईने यो पर्वमा गथामंगःको दहन गर्दा अस्लिल शब्द बोलेर गाली गर्दै लैजाने परम्परा रहेको छ । गथामंगःको दहनपछि ‘रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव’ भन्दै भगवानको नाम लिँदै फर्किने गर्दछ ।
आजकै दिन बच्चाहरु भुतदेखी नडराउन भनी गथामुंगः दहन गरेको आगो तपाउने प्रचलन रहेको छ । आजकै दिनबाट लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । गथामुंगःको दिन सिनाज्या मनाउन घर आँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको संख्या पनि कम हुने र लामखुट्टेको टोकाइ समेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।
लोककथन अनुसार घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले ‘हरि र शंकर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे, सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये। त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख गरिएको छ ।