टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए

भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन ।
उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा गरिन, जुन उनले यस स्पर्धामा राखेको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि कमजोर प्रदर्शन हो । हिट २ मा रहेकी सरस्वती आफ्नो हिटमा रहेका ९ मध्ये आठौं स्थानमा रहिन ।
सरस्वतीले यसअघि सन् २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३ औं सागमा १२.५५ सेकेन्डको समय निकालेकी थिइन् । नेपालको राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा १२.२० सेकेन्डको समय निकालेकी थिइन् ।
यससँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके । पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए । जुडोमा सोनिया भट्ट पहिलो चरणमा नै बाहिरिइन् ।