सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने

भक्तपुर, साउन १४
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनको बुधवारको बैठकमा सरकार बिस्तार र साझा नीति तथा कार्यक्रम निर्माण गर्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न बाँकी रहेकाले आज पुनः बैठक बस्न लागेको हो ।
बैठक आज विहान साढे आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका नेता पुर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह ), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता हुनेछ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने खड्काको भनाइ छ । माधव नेपाल समूह तत्काल सरकारमा नजाने बुधवारको बैठकमा स्पष्ट पारेको छ भने जनमोर्चापनि सरकारमा सामेल नहुने जनाई सकेको छ ।
बैठकमा माओवादी केन्द्र र जसपाले मन्त्री बन्नेको नामावली उपलब्ध गराए प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवाले आजै नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राख्नुभएको छ । बैठकमा महाधिवेशन, क्रियाशिल सदस्यता वितरण र सरकार बिस्तारका बारेमा छलफल हुने बताईएको छ ।