माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ – रघुवीर महासेठ

काठमाडौं, साउन ११
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमवार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले माधव नेपाललाई अध्यक्ष दिनेगरी पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा नेता महासेठले माधव नेपाललाई आम कार्यकर्ताले जस्तो मिडिया फेश गर्नु भन्दा पनि लो–प्रोफाईलमा बस्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’
नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो÷चाँडो एकता भईछाड्ने दावी गर्नुभयो । उहाँले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमाले बनाउन तपाईँको ठूलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’
उहाँले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरु एमालेको एकता नहोस भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन नेता नेपाललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरुलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौं । यसमा कुनै द्धिविधा नहोस् ।’
उहाँले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुष ५ गतेको घटना जिम्मेवार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जतिबेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौं, यतिवेला केही सांसदहरु संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरुले तत्कालिन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्ने गरी संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भंग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’
उहाँले युवा संघ र युथफोर्स पार्टीकै जनवर्गीय संगठन भएपनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आईटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसमा हाम्रो पार्टी एमालेको टाढाटाढाको पनि सम्बन्ध छैन् ।’
उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर, सर्वोच्च अदालतको ईजलाशले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार फैसला गरेन भनेर जनताले टिप्पणी गरेका छन् । हुन पनि जनताले यो अपेक्षा गरेका थिएनन् ।’

नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको आज दुई हप्ता बितिसक्दापनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘देउवाजी अदालतको परमादेशले प्रधानमन्त्री हुनुभयो । तर, सरकार गठन गर्न अझै सक्नुभएको छैन् ।’ उहाँले मन्त्रिपरिषद बिस्तार गर्नपनि अदालतको फैसला आउनुपर्ने हो र भन्दै कटाक्ष गर्नुभयो ।