संघीय संसदको अधिवेशन आज शुरु हुँदैं

भक्तपुर, साउन ३
सर्वोच्च अदालतको आदेशानुसार संघीय संसदको अधिवेशन आज (आइतवार) शुरु हुँदैछ । संसदका दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
बैठकका लागि तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । बैठकका लागि शनिवार सांसद र संसद सचिवालयका कर्मचारी र मर्यादापालकहरुको कोरोना एन्टीजेन परीक्षण गरिएको थियो ।
संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै प्रतिनिधिसभामा सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
संसद बैठकले अघिल्लो सरकारले ल्याएका १६ वटा अध्यादेश र केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै दिईसक्नु भएको छ ।
मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनमा करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले असार २८ गते पुनःस्थापना गरेको थियो ।