जसपा पनि सरकारमा सहभागी हुने

भक्तपुर, साउन २
जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (शनिवार) बसेको सांसदहरुको बैठकले सरकारमा जाने निर्णयसँगै आइतवार बस्ने संसदको बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको हो ।
बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसदपनि सहभागी भएको बताईएको छ । अध्यक्ष यादवले ठाकुर पक्षका अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव बैठकमा सहभागी भएको बताउनुभयो ।
आन्तरिक विवादले अनौपचारिकरुपमा विभाजन भएको जसपाको ठाकुर पक्ष यसअघि ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । त्यसबेला ठाकुरको पक्षमा २० सांसद थिए । ठाकुर पक्षका पाँच जनाले कित्ता परिवर्तन गरेपछि अब यादवको पक्षमा सांसदको संख्या १७ पुगेको छ । यसले जसपाको संसदिय मोर्चा र पार्टीको कार्यकारी समिति दुवैमा यादवको बहुमत पुगेको छ ।
जसपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको छ । आयोगले भोली आइतवार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सम्भवतः आयोगले जसपाको आधिकारिता विवादका सम्बन्धमा आइतवार नै फैसला गर्न सक्ने आंकलन गरिएको छ ।