मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड

भक्तपुर असार ३१
भक्तपुरमा मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहिवार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षामा सहभागीहरुले स्थानीय तह, प्रहरी, मानवअधिकारवादी संघ संस्था, नागरिक समाज, नागरिक अधिकारकर्मी र सञ्चारकर्मीसहितको कार्यशालाबाट एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिएको हो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवअधिकारको रक्षा र अपराधका घटना हुन नदिन सबै स्थानीय सरकार र सरोकारवाला एकजुट हुनुुपर्ने औल्याउनुभयो । नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहनु भएका उपप्रमुख बस्नेतले जिल्लालाई अपराध मुक्त बनाउन नागरिक समाजबीच समन्वयतात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकामा आउने उजुरी मध्ये महिला हिंसा, घरेलु हिंसाको मुद्दा २० प्रतिशतमात्रै आउने र अरु साँध सिमाना विवादका मुद्दा आउने गरेको जानकारी दिनुभयो । नगरपालिकाको न्यायिक समितिले असार मसान्तसम्म १५८ वटा मुद्दा छिनोफानो गरेको र सम्बन्ध बिच्छेदका मिलाउन नसकेका मुद्दा अदालत पठाएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले अपराधका घटना न्यूनिकरण भए मात्रै मानवअधिकार सवल बन्ने बताउनुभयो । उहाँले समाजलाई अपराध मुक्त बनाउन प्रहरी एक्लैले नसक्ने बताउँदैं त्यसका लागि सबै क्षेत्रको साथ सहयोग र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
अपराधलाई न्यूनिकरण गर्दै मानवअधिकारलाई बलियो बनाउन एकिकृत योजना बनाएर जानुपर्नेमा सहमत जनाउनुभयो । उहाँले लागू पदार्थ दुव्र्यसनी र मदिरा सेवन आफैंमा अपराध भएपनि यी गतिविधि धेरै अपराधका घटनाका कारक तत्वको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका महिला शाखा प्रमुख निला घिमिरे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, गैसस भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले मानवअधिकारको रक्षाको लागि सबैले प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेकले भक्तपुरमा विगत ६ महिनामा घटेका विभिन्न अपराधका घटनाहरुको विवरण समेत सार्वजनिक गरिएको थियो । सो अनुसार भक्तपुरमा ६ महिनाको अवधिमा बालिका, किशोरी र महिला गरी २० जना बलात्कारको घटनाबाट पीडित भएका छन् । त्यस्तै गैर राज्यपक्षबाट तीन जनाको हत्या भएको र पाँच जनाको हत्या प्रयास भएको छ ।
बलात्कार प्रयासका घट्नाबाट २ जना, बालयौन दुव्र्यबहारबाट ७ जना र बहुविवाहका घटनामा ५ जना महिला पीडित भएका छन् । समिक्षा अवधिमा मानव बेचबिखनबाट ३ जना, मानव बेचबिखनसहित बलात्कारबाट १ जना किशोरी, ठगी गरि भएको बलात्कारबाट १ जना, अपहरण गरि बलात्कारबाट १ किशोरी पीडित भएका हुन् ।
अभद्र व्यवहारबाट ७७ जना पीडित भएको इन्सेकको तथ्याँकमा उल्लेख गरिएको छ । घरेलु हिंसाबाट १२ जना पिडित महिलाको उजुरी परेकोमा पाँच जनाको मिलापत्र भएको र ७ जनाको कारवाही प्रक्रिया चलिरहेको इन्सेकले जनाएको छ ।
त्यसैगरी आत्महत्या दुरुत्साहनमा २ जना, सार्वजनिक स्थलमा महिलाहरुलाई दुव्र्यवहार गरी यौनाङ्ग देखाउने एक जना, अप्राकृतिक मैथुन गराई हिंसा गर्ने एक जनालाई कारवाही गरिएको छ । विष सेवनबाट १० र झुन्डिएर १७ जनाको ज्यान गएको छ । विगत ६ महिनामा बालबालिका, महिला, पुरुष गरि २१८ जना हराएकोमा १५८ मात्रै भेटिएको र २३ जना बेवारिसे भेटिएको बताइएको छ ।