‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक

लक्ष्मी गारु, भक्तपुर, असार २८
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्रीको रुपमा ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले सोमवार अनलाइनमार्फत सो पुस्तक सार्वजनिक गरेको हो ।
पुस्तकमा विभिन्न व्यक्तित्वहरुको जीवनीसहित २४ वटा लेख समावेश गरिएको छ । पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखहरुले भक्तपुरको समग्र इतिहासको उत्खनन् र अभिलेखकीकरण गरेको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले बताउनुभयो । उहाँले विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन—अनुसन्धानमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकको विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पुस्तकमा समेटिएका विभिन्न व्यक्तित्वहरुको जीवनी अध्ययनले मानिस आफ्नो परिवारको लागि मात्र काम गर्ने नभई समाज र देशको निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने प्रेरणा दिने बताउनुभयो । उहाँले पुस्तकले नयाँ पुस्तालाई समाज, देश र जनताको लागि बाँच्ने प्रेरणा दिने बताउनुभयो ।
भक्तपुरको पहिचानलाई विश्वसामु पस्कन पुस्तकले मद्दत पु¥याएको बताउँदैं सांसद सुवालले पुस्तकका लेखहरुका विषयवस्तुमा भौतिकवादी व्याख्यालाई जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रकाशनमा ल्याएको ख्वपको पहिचान भक्तपुरको विषयमा जान्न चाहने सबैको निम्ति उपयोगी पुस्तकको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका भाषा सम्पादक ज्ञानसागर प्रजापतिले प्रकाशित पुस्तकले शिक्षकहरुलाई सिर्जनशील बनाउन मद्दत पु¥याउने बताउनुभयो । स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले शिक्षकहरुको मागअनुरुप सन्दर्भ सामाग्री तयार भएको र पुस्तकको पाठनपाठनबाट पहिलेभन्दा शिक्षा स्तरीय हुने विश्वास लिएको बताउनुभयो । उहाँले प्रकाशित पुस्तक शिक्षक तथा विद्यार्थीलाई मात्र नभई भक्तपुरबारे अनुसन्धान गर्न चाहने सबैको लागि महत्वपूर्ण पुस्तकको रुपमा रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले केन्द्रीकृत पाठ्यक्रमले विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुबारे वञ्चित गरेको बताउँदैं स्थानीय पाठ्यक्रमको महत्वमाथि प्रष्ट पार्नुभयो । कर्माचार्यले स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यार्थीहरुलाई पठनपाठन गर्ने जिम्मेवार निकाय शिक्षकहरु भएको र स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयनमा ख्वपको पहिचान सन्दर्भ सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।