सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

भक्तपुर, असार २८
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ ।
फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सर्वोच्चले लोकतन्त्र र नेपालको संविधानको रक्षा गरेको बताउनुभयो । सर्वोच्चले प्रधानमन्त्री के पी शर्मा ओलीको एक पछि अर्को स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक कदमलाई ब्रेक लगाएको थापाको टिप्पणी थियो ।
सर्वोच्चले संवैधानिक सर्वोच्चता कायम गरेको भन्दै उहाँले सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत संविधान, कानुनको अन्तिम व्याख्यता हो । उसको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु सरह हो ।’
यसैबीच संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशको स्वागतमा नेपाल तरुण दल भक्तपुरले आजै (सोमवार) साँझ ६ बजे भक्तपुरको टौमढीस्थित ङातापोल्हँ (पाँच तल्ले) मन्दिर परिसरमा दिप प्रज्वलन गर्ने भएको छ ।