सहमतिको व्याख्यालाई लिएर एमालेमा नयाँ विवाद

भक्तपुर, असार २८
नेकपा एमालेमा सहमतिको मसी सुक्न नपाउँदैं सहमतिको व्याख्यालाई लिएर अर्को विवाद शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सहमतिको मर्म विपरित सर्वोच्च अदालतमा विचाराधिन संसद विघटन विरुद्धको रिटलाई प्रभाव पार्नेगरी व्याख्या गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध जनाएका छन ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवको साथमा अब निवर्तमान सांसदहरु १२३ जना मात्र बाँकी रहेको प्रतिक्रिया दिएका थिए । उहाँले नेकपा एमालेका दुई समूहबीचको सहमति सार्वजनिक नहुँदैं फेसबुकमा ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरु अब १४६–२३=१२३ मात्र । सर्वोच्चद्धारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’ भनी प्रतिक्रिया दिएका थिए ।
उनको प्रतिक्रियापछि वरिष्ठ नेता नेपालले पनि फेसबुकमार्फत नै त्यसको प्रतिवाद गर्नुभएको छ । नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको व्याख्या मान्य नहुने प्रतिक्रिया दिनुभएको छ । उहाँले एमालेका २३ जना सांसदहरु सबै एकैसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पारेका छन ।
उहाँले लेख्नुभएको छ, ‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्विकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको व्याख्या मान्य नहुने स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेको नेकपा (एमाले)का २३ जना सांसदहरु सबै एकैसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पार्दछु ।’