कोपा अमेरिका कप ः ब्राजिललाई हराउँदैं अर्जेन्टिनाले जित्यो उपाधी

भक्तपुर, असार २७
विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले कोपा अमेरिका कप २०२१ को उपाधी जितेको छ । ब्राजिलमा आइतवार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।
अर्जेन्टिनाले कोपाको उपाधी सन् १९९३ पछि पहिलो पटक जितेको हो । अर्जेन्टिनाले कोपाको उपाधी जितेको यो १५ औं पटक हो । स्टार खेलाडी मेसीको लागि भने यो अर्जेन्टिनाको लागि पहिलो उपाधी हो ।
अर्जेन्टिनालाई उपाधी जिताउन मारियाले खेलको २२ औं मिनेटमा गोल गरेका थिए । उनले रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलको ब्राजिलले आक्रमक शुरुवात गरेपनि गोल भने गर्न सकेन । खेलको १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिललाई अघि बढ्न रोकेका थिए ।
त्यस्तै पहिलो हापको २९ औं मिनेटमा ब्राजिलका लागि खतरा बनेका डी मारियालाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए ।
अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गरेका थिए । अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको थियो । उनलाई लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिएका थिए ।