सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

भक्तपुर, असार २६
सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने र आर्थिक समृद्धि तथा आत्मनिर्भरतर्फ उन्मुख हुने बताईएको छ ।
राष्ट्रिय सञ्चार केन्द्रले शनिवार आयोजित सूर्यविनायक नगरपालिकाको पर्यटन विकास, सेवा प्रवाह र सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रियामा सहभागीहरुले पर्यटनको विकासका लागि ठोस योजना र रणनीति निर्माण गर्न समेत सुझाव दिए ।
सूर्यविनायक नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले ऐतिहासिक रानीकोट गढीको संरक्षण, नीजि क्षेत्रको सहकार्यमा जीपलाईन सञ्चालन, धार्मिक पर्यटनको लागि शिव सर्किटको गुरुयोजना निर्माणलगायतका कार्य भएको जानकारी दिँदैं भविष्यमा नगरको मुख्य आयस्रोतको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिको रुपमा ४ वर्षमा नगरको पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दावी गर्नुभयो । उहाँले नगरपालिकाको योजनाहरु ९५ प्रतिशत सम्पन्न भएको र कोभिडका कारण केही बाँकी भएको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारका योजना ढिलोगरी सञ्चालन हुने परिपाटीले नगरपालिकाले असारे विकासको गुनासो सुन्नु परेको दुःखेसो समेत पोख्नु भयो । उहाँले भन्नुभयो, ‘नगरका योजना समयमा सम्पन्न भएका छन । असारे विकास गर्ने हाम्रो उद्देश्य छैन । तर केन्द्र र प्रदेश सरकारको योजनाले जनतामा असारे विकासको सन्देश गएको छ । यसको दोष नगरपालिकाले खेप्नुपरेको छ ।’
सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले नगरपालिकाले महिला, बालबालिका, दलित तथा उत्पिडनमा परेका र ज्येष्ठ नागरिकको हितमा उल्लेख्य कार्य गरेको चर्चा गर्दै भक्तपुर नगरको अवलोकनका लागि आउने पर्यटनलाई सूर्यविनायक पनि आउने वातावरण बनाउने नगरपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष किरण थापाले नगरका ११ वटा प्रमुख शिवमन्दिरलाई समावेश गरी शिव सर्किटको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको, पर्यटनको विकासका लागि आवश्यक पुर्वाधारहरुको विकास गरिएको, सूर्यविनायकमा निर्माणाधिन प्राणी उद्यान, सिपाडोलमा नीजि क्षेत्रले विकास गरेको विकसित घडेरीसहितको प्लानिङलगायतले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गर्नुभयो । उहाँले नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यविधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । नगरपालिकाले हालसम्म १ करोड भन्दा माथिका ४४ वटा, ३० लाख भन्दा माथिका ८२ वटा र ५ लाखदेखि माथिका ७८६ वटा गरी जम्मा ९१२ वटा आयोजना सम्पन्न हुने अवस्थामा रहेको केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका सम्पादक जुनार बस्नेतले सूर्यविनायक नगरपालिकाको पर्यटनको सम्भावनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नगरपालिकाले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले पत्रकारहरुले पनि आफ्नो भूमिकाको बारेमा सिंहालोकन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार समाजका ऐना भएको चर्चा गर्दै पत्रकारले गर्ने गतिविधिले समाजलाई परिवर्तनको दिशामा अग्रसर बनाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगत प्रजापतिले पर्यटनसँग स्थानीय उत्पादनलाई जोड्न सके नगरभित्र रोजगारी सृजना हुने, स्थानीय उत्पादनमा बृद्धि हुने र नगर आर्थिकरुपमा समृद्ध हुने बताउनुभयो । उहाँले यहाँको पर्यटनको विकासका लागि होटल व्यवसायीहरुसँगको साझेदारीमा विभिन्न प्याकेज कार्यक्रम बनाउनु पर्ने सुझाव दिनुभयो ।
केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकी, सचिव संजीप घिमिरे, सहसचिव हेमराज ढकाल, पत्रकारहरु हरिसुन्दर छुंका, लोकेन्द्र भट्ट, सुदर्शन अर्याललगायतले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।