विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

भक्तपुर, जेठ २१

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा नेपालले अञ्जन बिष्ट र नवयुग श्रेष्ठको गोलमा ताईपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
अञ्जनले खेलको ४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले खेलको तेस्रो पेनाल्टी पाएको थियो । अन्जनले सो पेनाल्टी प्रहारमा कुनै गल्ती नगरी नेपाललाई अग्रता दिलाएका हुन ।
त्यस्तै वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफपछि मैदान प्रवेश गरेका नवयुगले खेलको ८१ औं मिनेटमा उत्कृष्ट फ्लिक किक मार्फत गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । ताईपेईको पेनाल्टी क्षेत्रमा रहेका नवयुगले सुमन अर्यालको क्रसमा कुनै गल्ती नगरी फ्लिक किकमा बललाई जाली चुमाएका थिए ।
नेपालले जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको छ । समूह चरणमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपाललाई ताईपेईलाई उसैको घरेलु मैदानमा २–० ले पराजित गरेको थियो । उक्त दुवै गोल अञ्जन बिष्टले नै गरेका थिए ।
फोटो सौजन्य ः एन्फा