‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने

भक्तपुर, जेठ २१

अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको हो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।
कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।
एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा गरिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’ कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।
अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो वाइडेनले सार्वजनिक गरेका हुन् ।