नगरप्रमुख श्रेष्ठले बोलाए कार्यपालिका बैठक

भक्तपुर, जेठ २०

मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको ५२ बैठक सोमवार दिउँसो १ बजे नगरपालिका परिसरमा बस्ने भएको छ । कार्यपालिकाका १९ सदस्य मध्ये उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा १५ सदस्यले शुक्रवार बैठक राख्न माग गर्दै निवेदन दिने तयारी गरेको समाचार सार्वजनिक भए लगत्तै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सोमवारका लागि बैठक डाक्नु भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले पठाएको पत्रमा नगरसभाको तयारी र कोभिड–१९ को व्यवस्थापन सम्बन्धमा छलफल गर्न बैठक राखिएको उल्लेख छ ।
यसअघि उपप्रमुखसहितको टोलीले कोरोनाको पिसिआर परीक्षण निःशुल्क गर्न र कोरोना विरुद्धको खोप नगरपालिकाले खरिद गरी वा दातृ निकायसँग पहल गरी अनुदानमा ल्याएर नगरबासीलाई निःशुल्क उपलब्ध गराउने विषयमा छलफलका लागि कार्यपालिकाको बैठक माग गर्न शुक्रवार निवेदन दिने तयारी गरेको समाचार ईन्यूज डटकममा प्रकाशन भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नियमावली २०७५ मा कार्यपालिका बैठक महिनामा एक पटक बस्नुपर्ने व्यवस्था भएपनि मध्यपुर थिमिमा लामो समयदेखी नगर कार्यपालिका बैठक बस्न सकेको छैन ।