प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

भक्तपुर, जेठ २०

कतारमा अर्को वर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अहिले कुवेतमा रहेको छ । नेपालले आज बिहिवार चाईनिज ताईपेईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १० बजे कुवेतको जावेद अल अहमेद स्टेडियममा हुनेछ ।
यो खेल नेपालको लागि अत्यन्त महत्वूर्ण रहेको छ । विश्वकप छनोटको गणितिय सम्भावना बाँकी राख्न र सन् २०२३ को एसियन कप छनोटको तेस्रो चरणमा सोझै प्रवेशको लागि नेपालले ताईपेई विरुद्धको खेल जित्नैपर्ने दवाब रहेको छ ।
यसअघि छनोटको पहिलो चरणको खेलमा नेपालले ताईपेईलाई उसैको घरमा २–० ले पराजित गरेको थियो । त्यसैले पनि नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दवाब बढेको हो भने नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पनि यो खेल अग्नी परीक्षा बनेको छ ।

प्रशिक्षक अलमुताईरीले नेपाली टोलीमा व्यापक परिवर्तन गरेको छ । युवा खेलाडीहरुलाई मौका दिएर उनले पुराना नियमित खेलाडीलाई समेत आराम दिएको छ । अलमुताईरीले ६ नयाँ अनुहारलाई मौका दिएर सम्भवत अहिलेसम्मको युवा टोली तयार गरेका छन । खेलाडी छनोटमा धेरै आलोचना खेपेका प्रशिक्षकले नतिजाको लागि धैर्य गर्न आग्रह गरेका थिए । यही टोली गत शनिवार ईराक विरुद्ध सम्पन्न मैत्रीपूर्ण खेलमा २–६ ले पराजित भएको थियो ।
नतिजामा नेपाल पराजित भएपनि नेपाली टोलीको प्रर्दशन भने सन्तोषजनक थियो । खेलमा नेपालले एक समय २–१ ले अग्रता बनाएको थियो तर केही सिल्ली गल्तीका कारण नेपाल फराकिलो गोल अन्तरले पराजित हुन पुगेको थियो ।
चाईनिज ताईपेई फिफा वरियतामा नेपाल भन्दा माथिल्लो स्थानमा रहेको छ । हाल फिफा वरियतामा चाईनिज ताईपेई १४१ औं स्थान र नेपाल १७१ औं स्थानमा रहेको छ । नेपाली टोली काठमाण्डौंमा करिव दुई साताको प्रशिक्षणपछि इराकहुँदै कुवेत पुगेको हो । ताईपेईले स्वदेशमै एक महिना भन्दा लामो प्रशिक्षणपछि कुवेतको यात्रा तय गरेको हो ।
ताईपेईले पहिलो पटक कुवेतको भुमिमा खेल्न लागेको हो । ताईपेईका लागि मुख्य चुनौती कुवेती मौसम रहेको छ । प्रतियोगिता भन्दा दुई दिन अघि मात्र कुवेत पुगेको ताईपेईलाई त्यहाँको मौसमसँग घुलमिल हुन समय लागिरहेको प्रशिक्षक वाङले बताए । उनले सबै खेलाडीहरुले कुवेतको गर्मी पचाउन प्रयासरत रहेको जानकारी दिए । वाङले नेपाल विरुद्धको खेललाई राम्रो तयारी गरेको र टोली जित्नको लागि मैदानमा उत्रने बताए । आफुहरु मैदान केन्द्रीत भएको र पहिलो पटक यति गर्मीमा खेल्न लागेको उनले बताए ।
ताईपेईले पनि टोलीमा व्यापक परिवर्तन गर्दै नौ युवा खेलाडीलाई मौका दिएको छ । टोलीका ८ खेलाडीले मात्र १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । प्रशिक्षक वाङले पुर्णरुपमा युवा टोली तयार गरेको छ ।
टोलीमा ६ जना नयाँ अनुहार समावेश गरेर कुवेत पुगेको नेपाली टोलीको लक्ष्य ताईपेईबाट तीन अंक खोस्नु रहेको छ । यो खेलमा नेपालले ईराकविरुद्धको खेलमा भएका गल्तीलाई सुधारेर परिपक्व खेल खेल्नुपर्ने जरुरी छ ।
टोलीमा अञ्जन बिष्ट, मनिष डाँगी, नविन श्रेष्ठले अग्रपंक्ति सम्हाल्ने छ । सम्भवतः ईराकविरुद्धको सेटलाई नेपाली प्रशिक्षकले ताईपेईविरुद्ध मैदानमा उतार्ने सम्भावना रहेको छ ।
अंक तालिकामा ताईपेई समूहको अन्तिम स्थानमा रहेको छ । ताईपेईले प्रतियोगितामा २ गोल गर्दा २५ गोल खाएको छ । उसले दुई गोलमा एक गोल जोर्डन र एक गोल अष्ट्रेलिया विरुद्ध गरेको हो । तर दुवै गोल गर्ने खेलाडी यो पटक टोलीमा छैन ।
नेपालले यो प्रतियोगितामा २ गोल गर्दा १६ गोल खाएको छ । नेपालले दुवै गोल ताइपेई विरुद्ध गरेको हो ।