उपत्यकामा निषेधाज्ञा – जोर बिजोर प्रणाली सार्वजनिक सवारी चल्ने

भक्तपुर, असार १४
काठमाडौं उपत्यकमा भोली (मंगलवार)बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमवार बसेको संयुक्त बैठकले काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाई सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले नीजि सवारी साधनमा जस्तै जोर बिजोर प्रणालीमा २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा उल्लेख छ ।
बैठकले दैनिक उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खोल्न पाउने व्यवस्था गरेको छ । निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न पाईने व्यवस्था थियो । भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल भने बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाईने भएको छ ।
त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोवाइल पार्टस् पसल पनि विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु सञ्चालनमा लगाएको रोकलाई यथावत राखेको छ ।
खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा लगाएको प्रतिबन्धलाई पनि यथावत राखेको छ ।
विद्यालय र कलेजहरुले अनलाइन र भच्र्युल कक्षा सञ्चालनलाई निरन्तरता दिन आदेश गरिएको छ ।