चनौटे र मेलम्चीको स्थलगत रिपोर्ट – अझै त्रासमा छन स्थानीय

 

जगत प्रजापति, भक्तपुर, असार १४
रातो बोरामा भाँडावर्तन भरिएको थियो । छेउमै सुन्तला रंगको कुर्ता सलवार लगाएकी महिला सेतो बोराको डल्लो नियाल्दै थिइन । घरको भित्रबाट निस्किएका महिलाले सोधे, ‘के हो र त्यो ?’ ती महिलाले जवाफ दिईन, ‘खोई डल्लो परेको छ, के हो ?’ ‘खोलेर हेर न,’ नजिकै अर्जेन्टिनाको फुटबल जर्सी लगाएका अधवैंशे पुरुषले भने । ‘हुन्छ’ भन्दै ती महिलाले बोरो खोलेर हेरिन । बोराभित्र चिउरा थियो । हेलम्बु गाउँपालिकाको चनौटे बजारमा असार १० गते दिउँसो ३ बजे पुग्दा स्थानीय रामकुमारी कार्कीका परिवार पुरिएको माटो पन्छाउँदैं घरबाट सामान निकाल्दै गर्दाको संवादको दृष्य हो यो ।

दुई तल्ले टहराको भुईतल्ला पुरै र पहिलो तल्लाको एक चौथाई भाग मेलम्चीको बाढीसँगै आएको लेदोले पुरिएको पिडित स्थानीय रामकुमारी कार्कीले बताईन । ‘हेर्दा हेर्दै खोलाले बस्तीतर्फ हान्न थाल्यो र पुरै बस्ती डुवानमा प¥यो,’ उनले भनिन, ‘ज्यान जोगाउनै धौ धौ प¥यो ।’ उनले खोलाको बहाव बढ्दै चनौटे चुरेटार पुल (रातोपुल) नै नाघेको बताईन ।
नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री लिएर मेलम्ची बजारहुँदैं हेलम्बुको तारामाराङ पुग्दा दिउँसोको करिव १ बजेको थियो । त्यहाँ राहत ल्याउने खबरले बाढी पिडितहरु जम्मा भएर बसेका थिए । कांग्रेसले सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतसँग समन्वय गरी राहत लिएर हेलम्बु गएको थियो । बस्नेतले स्थानीय समाजसेवी एवम् कांग्रेस नेता नारायण गिरीलाई राहत लिएर भक्तपुर कांग्रेसको टोली आउँदै गरेको खबर गरे अनुसार गिरीले गत असार १ गते मेलम्ची नदिमा आएको बाढी पिडितहरुको नाम संकलन गरी तारामाराङ बजारमा जम्मा गरि राखेका थिए ।
टोली पुगेपछि कसरी राहत वितरण गर्ने भन्ने बारे सामान्य छलफल गर्दै गर्दा हेलम्बु गाउँ कार्यपालिका सदस्य लक्ष्मी सुनार पनि आईपुगिन । टोलीले राहत सामग्री लक्ष्मीलाई हस्तान्तरण ग¥यो । सुनारले गिरीलाई जिम्मा लगाएपछि हाम्रो टोली चनौटे प्रस्थान गरेको थियो ।


चनौटेमा पुग्दा नेपाली सेनाले बाढी रोकथामका लागि तारजालीसहित ढुंगाको बाँध बनाउने कार्य गरिरहेको थियो । त्यस्तै हेलम्बु जाने सडकमा नेपाली सेनाले नै स्काभेटरको सहायताले बाढीले थुपारेको पाँगो माटो पन्छाउँदैं थियो । केही स्थानीय आफ्नो पुरिएको घर वरिपरीको माटो पन्छाउँदैं झ्यालका सिसा फुटाउँदैं घरभित्र भरिएको माटोसँगै आफ्ना सामान निकाल्ने प्रयास गरिरहेका थिए । यस्तै मध्येकी एक हुन रामकुमारी कार्की ।
उनले भने, ‘सेनाले मेलम्चीको धार फर्काउने कोशिष गरिरहेको छ, तर सकिरहेको छैन । धारमात्र परिवर्तन गर्न सके घर जोगिन्थ्यो की भन्ने आशा छ ।’ नदिमा पानीको बहाव उतारचढाव भएसँगै मेलम्चीले धार परिवर्तन गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘खोलाको धार एक नाशको छैन । कहिले यताबाट बग्छ, त कहिले पल्लोपट्टि पुग्छ ।’ वर्षासँगै मेलम्ची नदिमा पानीको वेग बढ्ने गरेको र यसले कटान नरोकिएको कार्कीले बताईन ।

चनौटे बजार हेलम्बु क्षेत्रको मुख्य बजार हो । सिंगो हेलम्बु गाउँपालिकाको वडा नं. १, २, ३, ६ र ७ को मुख्य बजार नै चनौटे भएको स्थानीय बताउँछन । यो बजार अहिले बगरमा परिणत भएको छ । बाढीले बजार विलिन हुँदा विस्थापित स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न बजारको समेत अभाव भएको छ ।
गत असार १ गते मेलम्ची नदिमा आएको भिषण बाढीले हेलम्बु गाउँपालिका चनौटे बजारमा मात्र २८ घरलाई क्षति गरेको स्थानीय कुलबहादुर कार्कीले बताए । उनको तीन तल्ले घरको करिव दुई तल्ला पुरिएको र घरका पिलर समेत मक्किएको छ । भुईंतल्लामा रहेको करिव ५० लाख बराबरको भाँडावर्तन लगायतका सामग्री पुरिएको उनले बताए । ‘घर जग्गा, गोदामको सामान समेत हिसाव गर्दा ५ करोड जतिको क्षति भएको छ,’ उनले भने । उनका अनुसार चनौटेका दुई दर्जन घरपरिवारलाई बाढीले सडकमा पु¥याउने अवस्था आएको छ ।


गाउँ कार्यपालिका सदस्य लक्ष्मी सुनारले चनौटेमा मानविय क्षति एक जना भएको बताए । हेलम्बु रेम्बो ट्राउट तथा रिसर्च प्रा. लि.का मालिक ग्यानेन्द्र कक्षपति बाढीले बगाएर वेपत्ता भएको उनले बताए । उनका अनुसार चनौटेको मुख्य बजार भित्र रहेका २५ व्यापारिक पसल बाढीले बगाएका छन । चनौटेदेखी गणेशेसम्म ७ सय मिटर सडक, चनौटे झोलुङ्गे पुल बगाएको छ । चनौटे चुरेटार (रातो पुल) उच्च जोखिममा परेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकामा मात्र ४ महिलासहित २३ जना वेपत्ता भएको छ । ती मध्ये अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा ३ चिनिया, ३ भारतिय र दुई नेपाली कामदार छन ।


त्यस्तै हल्देका ४ जना, ग्यानेन्द्र कक्षपति र उनको फार्मका कामदार २ सहित ३ जना, भण्डारी ट्राउट माछा फार्मका ३ जना कामदार, जयबागेश्वरी ट्राउट फार्मका ४ जना र पाल्चोक सेराकी एक महिला छिन ।
त्यस्तै भौतिक क्षतितर्फ मोटरेवल पुल ४, झोलुङ्गे पुल ६, विभिन्न स्थानका करिव साढे ८ किलोमिटर सडक बाढीले बगाएको गाउँपालिकाले जनाएको छ । बाढीले वडा नं. १ मा २८, २ मा ११३, ३ मा ३, वडा नं. ७ को चनौटे बजारका २५ घर तथा पसल र ८ वटा ट्राउट माछा फार्म बगाएको गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साथै सयौं रोपनी खेत बगाएको छ ।


असार १ गतेदेखी हेलम्बुमा विद्युत प्रशारण बन्द भएको छ । विद्युत नहुँदा स्थानीय जनता सञ्चार सम्पर्क विहिन छन । चनौटेदेखी हेलम्बु जाने सडक बगाउँदा स्थलमार्ग समेत अवरुद्ध छ । मोवाइल चार्ज गर्न नपाउँदा आफन्तलाई घटनाको विवरण दिन नसकिएको गाउँ कार्यपालिका सदस्य मिजारले बताईन ।
उनले हेलम्बुमा खाद्यान्नलगायतका राहतको भन्दा पनि पुनःनिर्माण र पिडितहरुको पुनर्वासका लागि नगद र जस्तापाताको खाँचो रहेको बताए । एक स्थानीय महिलाले पनि नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यतातिर अन्नको दुःख छैन । धेरैको घर बस्न लायक नभएकोले उनीहरुको बसोबासका लागि आवश्यक सामग्रीको भने खाँचो छ ।’


हेलम्बुको चनौटे बजार मात्र होइन मेलम्ची बजारको दृष्य पनि उस्तै छ । हाम्रो टोली चनौटेबाट फर्किएर मेलम्ची बजार पुग्दा साँझको ५ बजेको थियो । बजारमा रहेको ६ तल्ले विशाल भवनको छेउमा रहेको एक तल्ले घर पुरै पुरिएको अवस्थामा छ । त्यही घरको खोलापट्टिको एक भित्ताको माटो पन्छाउँदै झ्यालको रेलिङको प्वालबाट माटो निकाल्ने प्रयास गर्दै थिइन एक महिला ।


सिरक डस्ना लगायतका सामान यत्रतत्र छरिएको थियो । एउटा झ्यालको रेलिङ र खापा निकालेर त्यहीबाट माटो पन्छाउँदैं सामान निकालेको ती महिलाले बताईन । उनले भनिन्, ‘ओत लाग्ने ठाउँको के कुरा गर्नु, हामीलाई त सुत्नलाई ओढ्ने ओछ्याउने र फेर्ने लुगा समेत छैन ।’ यति भन्दा भन्दै उनको गला अवरुद्ध भयो ।
मेलम्चीको बसपार्क पृथ्वीको गर्भमा विलिन भएको छ । मेलम्ची बजार र बसपार्क पुगेको जो कोही अहिले त्यहाँ पुग्ने हो भने त्यहाँ कुनै बेला बसपार्क थियो भन्ने पत्याउनै गा¥हो पर्छ । केही घरका वारी र पारी दुवैतर्फ मेलम्ची बगीरहेको छ, मानौं मानिसले नदिको बीचमा गएर घर बनाएको हो । मेलम्चीको सुन्दर बजार मरुभुमी जस्तो बगरमा परिणत भएको छ । पक्की र झोलुङ्गे पुल बगाउँदा मेलम्ची वारी पारीको सम्पर्क टुटेको छ ।


बाढी आएको दुई साता बित्न लाग्दा पनि मेलम्चीदेखी चनौटेसम्म सरकारले नदि नियन्त्रण र विस्थापितको पुनर्बास तथा पुनर्निर्माणको कार्यलाई गति दिन सकेको छैन । अवरुद्ध विद्युत सूचारु गर्न र अवरुद्ध सडक खुलाउने केही काम भइरहेको छ । चनौटे र मेलम्ची बजारमा तारजाली हालेर नदिको धार नियन्त्रण गर्ने प्रयास भएपनि पर्याप्त देखिँदैन ।
वास्तवमा मेलम्ची नदिको बाढीले जति क्षति गरेको छ, साँच्चै त्यो कल्पना भन्दा बाहिर छ । हेलम्बुदेखी नै उर्लिदैं बगेको मेलम्चीले धेरैतिर तहशनहश गरेको छ । सयौं परिवारलाई विस्थापित गरेको छ । स्थानीयले अर्बौको सम्पत्ती गुमाएका छन । अहिले पनि नदिले कटान गरिरहेको छ । नदिले धार परिवर्तन गरिरहँदा कति खेर फेरी अर्को विपत्ती निम्तिने हो भन्ने त्रासमा स्थानीय रहेको छ ।