युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो

भक्तपुर, असार ६
युरोपेली च्याम्पियनसिप युरोकपमा जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ भने स्पेन पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।
समूह डी को खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो । खेलमा पोर्चुगलले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । जर्मनीको जितमा हाभर्ट्ज, रोबिन गोसेन्सले गोल गरे भने दुई गोल आत्मघाती उपहार पाए । उता पोर्चुगलबाट भने कप्तान क्रिस्टियानो रोनाल्डो र जोटाले गोल गरेका थिए ।
खेलको १४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए ।
तर खेलको ३५ औं मिनेटमा जर्मनीले बराबरी गोल गरे । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासले क्लिअर गर्नेक्रममा बल गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले अर्को आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोले बल क्लिअरेन्स गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
हाभर्ट्जले खेलको ५१ औं मिनेटमा जर्मनीलाई ३–१ ले अघि बढाए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए । ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४–१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरे ।
खेलको ६६ औं मिनेटमा जोटाले गोल गर्दै गोल अन्तर कम गरे । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।
यसैगरी समूह ई को शनिवार राती सम्पन्न खेलमा स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १–१ को बराबरीमा रोकिएको हो ।


स्पेनले अल्भारो मोराटाको गोलले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा नै गोल गरेका थिए । रेफ्रीले सुरुवातमा असिस्टेन्ट रेफ्रीको झन्डा उठेपछि अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले अग्रता दोब्बर पार्ने अवसर चुकाए । जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसमा मोरेनोको प्रहारले पोस्टको बाहिरी नेटमा लागेको थियो ।
खेलको ५४ औं मिनेटमा नै पोल्यान्डले रोबर्ट लेवान्डोस्कीको हेडर गोल मार्फत खेल बराबरीमा ल्याए । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गरेका थिए । स्पेनका खेलाडीले लेवान्डोस्कीले हेडर प्रहार गर्नुअघि डिफेन्डर एमेरिक लापोर्टलाई फल गरेको भन्दै विरोध जनाएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

खेल बराबर भएको ४ मिनेटपछि नै स्पेनले अग्रता लिने अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र याकुब मोल्डरले मोरेनोलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै स्पेनलाई पेनाल्टी दिएका थिए । मोरेनो आफैंले गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डमा मोराटाको प्रहारले पुनः बाहिरियो ।


बराबरीसँगै स्पेनको २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेनको ४ अंक छ भने स्लोभाकियाको ३ अंक रहेको छ । समूहको अन्तिम खेलमा स्पेनले स्लोभाकियाको र स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।