मेलम्ची र हेलम्बुलाई चाँगुनारायणको १५ लाख सहयोग

भक्तपुर, असार ६
भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाढी पिडित सिन्धुपाल्चोकको दुई स्थानीय तह मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैंया सहयोग गरेको छ । चाँगुनारायणले मेलम्चीलाई १० लाख र हेलम्बुलाई ५ लाख नगद सहयोग गरेको हो ।
गत असार १ गते मेलम्ची नदिमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति गरेको थियो । चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोला शनिवार प्रभावित क्षेत्र मेलम्ची पुगेर सो सहयोग हस्तान्तरण गर्नुभएको हो । नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै दुई स्थानीय तहलाई गरेर १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकलाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले बताउनुभयो । हेलम्बु पुग्न सडक सञ्जाल बिच्छेद भएका कारण जान नसकिएको र हेलम्बु गाउँपालिकालाई प्रदान गरिने ५ लाख रकम पालिकाको खातामा जम्मा गरिदिने मिश्रले बताउनुभयो ।