पहिरोले मेलम्ची नदि थुनिने गरी बनेको बाँध फुट्दा बाढीको वितण्डा

भक्तपुर, असार २
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बजार डुवानमा पर्ने गरी बाढी आउनुमा मेलम्ची नदिमा आएको पहिरो भएको पाईएको छ । पहिरोले मेलम्ची नदि थुनिने गरी बाँध बनेको र केही समयपछि सो बाँध फुट्न गई आएको बाढीले मेलम्ची र हेलम्बुमा वितण्डा मचाएको पाईएको हो ।
बाढीले मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा पर्दा करोडौंको क्षति भएको छ । दर्जनौ घर डुवानमा परेको छ । बुधवार दिउँसो मेलम्ची बजारको मुख्य सडकमा समेत पानी भरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् । शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन । सम्पर्कविहीन भएका २० जनामध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ । एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
बाढीले मेलम्ची नगरपालिकाका ६०० जना, हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीय वासिन्दा प्रभावित भएका छन् । हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ ।
हेलिकप्टरबाट गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको पाइएको हो ।उक्त पहिरोले मेलम्ची नदी थुनिएर ठूलो दह बनेको फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थुनिएको मेलम्ची नदी एक्कासी पहिरोको माटोसहित बग्दा मेलम्ची बजार तहसनहस भएको हो ।

मेलम्ची बजार डुवानमा परेपछि स्थानीय वासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत मेलम्ची पुगेर स्थलगत अवलोकन गर्नुभएको छ । पुर्वसञ्चारमन्त्री समेत रहनुभएका बस्नेत निरिक्षणका लागि मेलम्ची बजार पुग्दा नदिको पानी बजारको मुख्य सडकमा चढेको थियो ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना ः