एएफसीको नयाँ प्रावधान अनुसार नेपाल एसियन कप छनोटको तेस्रो चरण प्रवेश

भक्तपुर, असार २
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो ।
यसअघिको प्रावधान अनुसार नेपालले प्लेअफ खेल्नुपर्ने थियो । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।
विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणको समापनसँगैं एएफसीले प्रकाशन गरेको नयाँ प्रावधान अनुसार दोस्रो चरणको छनोटमा समूहमा दोस्रो स्थान हासिल गर्ने मध्ये पुछारका तीन टोली, तेस्रो स्थानमा रहेका ८ टोली, चौंथो स्थानमा रहेका ८ टोली र पाँचौं स्थान हासिल गर्ने मध्ये शिर्ष तीन टोलीले एसियन कपको तेस्रो चरणको छनोट खेल्ने भएको हो ।


अब पाँचौ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । सो अनुसार इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।
छनोटको दोस्रो चरणको समापनसँगै जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट भएका छन भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीहरुमा नेपालसहित ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, कुवेत, जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्याण्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलिया छन् । त्यसैगरी हङकङ, माल्दिभ्स, श्रीलंका, म्यानमार, यमन र बंगलादेश छन ।