युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

भक्तपुर, जेठ २८
युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
मिनी विश्वकपको रुपमा समेत लिईने युरो कप गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो, तर कोरोना महामारीका कारण एक वर्ष पछि सरेको हो ।
युरोकपमा २४ टोलीले प्रतिष्पर्धा गर्दैछ । युरो कप अहिलेसम्म १० राष्ट्रले जितिसकेको छ । ती १० मध्ये यो पटक ९ पुर्वविजेता सहभागी हुँदैछ । युरो कपका पुर्वविजेताहरु मध्ये ग्रिस यसपटक छनोट हुन असफल भएको छ ।
युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता विभिन्न देशका ११ शहरमा हुँदैछ । युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । फाइनल खेल जुलाई ११ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।
सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् । उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड हुन ।
पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् । यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइनल पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।
कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी