विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै

भक्तपुर, जेठ २८
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः४५ बजे शुरु हुनेछ ।
फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपालको लागि असम्भव जस्तै छ । त्यसैले नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध उत्कृष्ट फुटबल खेल्ने लक्ष्य राखेका छन । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताईरीले भने, ‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ ।’


अलमुताईरीले साफ च्याम्पियनसिपका लागि युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने योजना रहेको बताए । ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ,’ उनले भने ।
अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीहरुलाई मौका दिने योजना बनाएका छन । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ उनले भने । कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् ।


अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन । गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । यता ६ अंकसहित चौथो स्थानमा रहेको नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।


अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताए । ‘उनीहरु फरक शैलीमा खेलिरहेका छन् र पछाडीबाट खेल्ने कोशिस गरिरहेका छन् । प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो,’ आर्नोल्डले भने ।
नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो । अष्ट्रेलियाको घरेलु मैदान क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल ५–० ले पराजित भएको थियो । उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । ह्यारी साउट्टरले एक गोल गर्दा नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।