यसवर्षको बडादशैं शुरु, आज घरघरमा घटस्थापन गरी जमरा राखिँदैं

भक्तपुर, असोज २१
नेपालीहरुको बडादशैं आज (बिहिवार)देखी शुरु भएको छ । बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ विभिन्न शक्तिपिठको पुजा आराधना र मान्यजनहरुबाट टिका र जमरा लगाई मनाउने गरिन्छ ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिन्छ । जमारा राख्नुअघि घरलाई गाईको गोवरले लिपपोत गरी घर चोख्याईन्छ । जमरा नजिकको नदी वा चोखो स्थलबाट बालुवा र पांगो माटो ल्याई त्यसमा यव अर्थात जौ, मकै छरेर राखिन्छ । दशैंघरमा वैदिक र तान्त्रिक विधिपूर्वक शक्तिकी देवी नवदुर्गा भवानीको आह्वान गरी दशैंको आरम्भ गरिन्छ । घटस्थापनाको दिन राखेको जमरा विजयादशमीको दिन टीका प्रसादसँगै प्रसादको रुपमा ग्रहण गरिन्छ ।
यसवर्ष घटस्थापनाको साईत बिहान ११ः४६ बजे रहेको पञ्चाङ्ग निमार्ण समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ ।
चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ । चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि अधिकारीको भनाइ छ । दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
घटनास्थापनादेखी विजयादशमीसम्मलाई नवरात्री, नवरात्र भनिन्छ । यस अवधीमा नवदुर्गा भवानीका विभिन्न नौ रुपको पुजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँपर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दशैँपर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।
महाअष्टमीको दिन नेवार समूदायले कुछि भ्वये खाने प्रचलन छ । यसदिन नेवार समूदायले दशैंको मासु भित्र्याइन्छ । महानवमीको दिन नेवार समूदायले नखाः मनाईन्छ । घरका सबै हातहतियारलाई पुजा गरिन्छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठपारायण पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।
परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो ।
दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।