सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

भक्तपुर, असोज १७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि सेल्सबेरीलाई ५ हजार जरिवाना गरेको हो ।
सेल्सबेरी मार्ट सञ्चालन गर्ने हिमालयन सुपर मार्ट प्रा. लि.ले अनुगमनका क्रममा खरिद बिल, खरिद बिक्रि खातालगायतका आवश्यक कागजपत्र पेश गर्न सकेको थिएन । सेल्सबेरीले ढक काँटा पनि अनुमति नलिई प्रयोग गरिरहेको पाईएको थियो ।


त्यसैगरी बजार अनुगमन टोलीले सल्लाघारी चुनदेवीस्थित चुनदेवी किराना पसललाई १० हजार जरिवाना गरेको छ । अनुगमनका क्रममा उपभोग्य म्याद नाघेको र ननाघेको खाद्यवस्तु एउटै स्थानमा राखेको, गोदाम फोहोर दुर्घन्धित पाईएको र खरिद बिल पेश गर्न नसकेपछि टोलीले तत्काल १० हजार जरिवाना गरेको हो ।
टोलीले सो पसलका प्रोपाइटर निलिमा कर्माचार्यलाई खरिद बिलहरु लिएर तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनुभयो ।


टोलीले भक्तपुर सूर्यविनायकस्थित भक्तपुर हार्डवेयर, मानन्धर हार्डवेयर, र चम्पकेश्वर हार्डवेयरमा पनि अनुगमन गरेको थियो । सो क्रममा हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको थियो भने चम्पकेश्वर हार्डवेयरले सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको थियो साथै आवश्यक बिल बिजकसमेत नराखेको पाइएको प्रजिअ केसरीले बताउनुभयो । त्यसैगरी टोलीले सूर्यविनायकस्थित दिपु इम्पेक्समा पनि अनुगमन गरेको थियो ।
सहायक प्रजिअ केसरी नेतृत्वको टोलीमा जिल्ला प्रशासन कार्यालयका अधिकृत लुना श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका उमेशकुमार दाहाल, गुणस्तर तथा नापतौल कार्यालयका पवन चन्द, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर उद्योग वाणिज्य संघका गौतम सूजखु, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।