चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण

भक्तपुर, असोज १७
जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।
मन्डेकाजीले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहमा दोहोरो स्वर्ण जितेका हुन् । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कांस्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जानकारी दिए ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको बताइएको छ ।