भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का

भक्तपुर, असोज १७
जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष खड्काले बढी व्याज दिने र छिटो छरिटो ऋण दिने प्रलोभन देखाई केही सहकारीमार्फत माफियाहरु सलबलाउन थालेको बताउनुभएको हो ।
उहाँले सहकारी समूदायमा आधारित हुनुपर्ने सिद्धान्त विपरित केहीले विकासे र नाफामुखी सञ्चालन गरिरहेको आरोप पनि लगाउनुभयो । ‘एउटै टोलका छिमेकी, दाजुभाई र साथीभाई संगठित भई समूदायमा आधारित भएर सहकारी सञ्चालन गर्नुपर्ने सिद्धान्त विपरित अहिले केही ठूला भनाउँदा सहकारीहरु केही सिमित व्यक्तिहरुले नीजि संस्था जस्तै सञ्चालन गरिरहेका छन । त्यस्ता सहकारी भक्तपुरमा पनि सलबलाउन थालेको छ,’ उहाँले भन्नुभयो, ‘विशेषगरी अरनिको राजमार्ग छेउछाउ उनीहरुले आकर्षक नारा दिएर कार्यालय सञ्चालन गरेका छन । यस बारेमा सबै सचेत हुनुपर्ने बेला आएको छ ।’
एउटा सहकारीले बदमासी गरे भक्तपुरका सबै सहकारीको साख गिर्ने र विश्वसनीयता हराउने मात्र नभई यहाँको पुँजी समेत पलायन हुन सक्ने खतरा रहेको बताउँदैं अध्यक्ष खड्काले सहकारीका विकृति र विसंगतीलाई न्यूनिकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप शर्माले छरिएर रहेका स साना पुँजी संकलन गरी संस्थाले सदस्यहरुको आर्थीक हितमा अधिकतम परिचालन गर्ने उद्देश्य अनुरुप सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एसएमएस वैंकिङ, मोवाईल वैकिङ सेवा शुरु गर्ने योजना रहेको जानकारी दिँदैं जगेडा कोषलाई बलियो बनाउँदैं संस्थाको घर जग्गा खरिद गर्ने योजना रहेको बताउनुभयो ।
संस्थाका सचिव अमृत प्रसाद श्रेष्ठले संस्थाको शेयर पुँजी २ करोड ३९ लाख ३१ हजार ३ सय पुगेको जानकारी दिनुभयो । उहाँले आर्थीक वर्ष २०७७÷०७८ मा १७ करोड ६१ लाख ६ हजार ६८३ रुपैंया विभिन्न शिर्षकमा निक्षेप संकलन गरेको र ११ करोड ९ लाख ३ हजार ६ सय रुपैंया कर्जा प्रवाह गरेको बताउनुभयो । उहाँले कर्जा जोखिम कोषमा २० लाख ८३ हजार ५३५ रुपैंया रहेको जानकारी दिँदैं संस्थाले आ.व. २०७७÷०७८ मा १४ लाख ९२ हजार ७४३ खुद वचत गरेको बताउनुभयो ।
कोषाध्यक्ष अनन्त खड्काले संस्थामा १ हजार ८७७ जना सदस्य रहेको जानकारी दिँदैं सभामा आर्थीक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि वडा नं. १ का वडासदस्य रत्न कुमाल, संस्थाका उपाध्यक्ष तिर्थलाल कुटु, लेखा सुपरिवेक्षण समितिका संयोजक जगतकृष्ण प्रजापति, ऋण उपसमितिका सदस्य भाइराम कुटुलगायतले सहकारी र संस्थाका विविध पक्षबारे चर्चा गर्दै कोरोना महामारीको विषम परिस्थितीमा संस्थाले सदस्यहरुलाई वित्तिय सहुलियत तथा सुविधा प्रदान गरेको बताउनुभयो ।