मनिष डाँगीको शानदार गोलसँगै साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

भक्तपुर, असोज १६
वैकल्पिक खेलाडी मनिष डाँगीको शानदार गोलसँगै नेपालले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)मा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रवार राती सम्पन्न खेलमा मनिषले ८५ औं मिनेटमा गरेको गोलको मद्दतले नेपालले आयोजक माल्दिभ्सलाई १–० ले पराजित गर्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो ।


जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । मनिष दोस्रो हाफको ६९ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । मनिषले काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । विशाल राईले मैदानको मध्यभागबाट निकालेको बललाई नियन्त्रणमा लिएर मनिषले माल्दिभ्सका तीन रक्षकलाई बिट गर्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।


खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेका थिए । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोही रणनीति अनुसार गर्न सफल भयो र महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।
खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४–३–३ को रणनीतिमा उतारेका थिए । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा सेन्टर डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा सुमन अर्याल र गौतम श्रेष्ठ थिए । मिडफिल्डमा पुजन उपरकोटी र रोहित चन्दले रक्षात्मक भूमिका निर्वाह गर्दा तेज तामाङ सेन्टर मिडफिल्डमा थिए । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिएका थिए ।


फुटबलमा नेपालले माल्दिभ्सलाई २२ वर्षपछि पहिलो पटक पराजित गर्न सफल भएको छ । जितसँगै नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदला समेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
यसपटकको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । भुटानले कोरोना प्रोटोकलका कारण नाम फिर्ता लिएपछि खेलको तालिका हेरफेर गरी राउण्ड रोविनको आधारमा खेलाईएको हो । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १–० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं मिनेटमा पेनाल्टी दिएका थिए । खेलमा श्रीलंकाका दुक्सन पुस्लासले रातो कार्ड खाएका थिए ।