पत्रकार महासंघको प्रतिनिधि मण्डल र प्रजिअ शर्माबीच भेटवार्ता

भक्तपुर, असोज ६
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र नेपाल पत्रकार महासंघ भक्तपुरको प्रतिनिधि मण्डलबीच बुधवार भेटवार्ता भएको छ । भेटमा समसामयिक विषयवस्तु, जिल्लाको शान्ति सुरक्षा र नजिकिँदो चाडपर्वको बारेमा छलफल भएको जनाईएको छ ।
भेटमा प्रजि शर्माले पत्रकार र सुरक्षा निकायको उद्देश्य जनताको मानवअधिकारको रक्षा, उनीहरुको जिविकोर्पाजनसँग जोडिएका मुद्दाहरुलाई सहज र सरल ढंगले राज्यले सम्बोधन गरोस भन्ने उद्देश्य रहेको जनाउँदैं दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकार राज्य, प्रशासन र आमनागरिकको पुलको काम गर्ने संस्था भएकाले जनताको समस्या जस्ताको तस्तै निर्धक्क राख्न, समाचार सम्प्रेषण गरी नागरिकलाई सूसुचित गर्न र प्रशासनलाई झक्झक्याई रहन आग्रह गर्नुभयो ।
नजिकिएको चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्तु दुरुष्ट राख्न सुरक्षा निकायबीच समन्वय गरी रणनीति तयार गरिएको र थप छलफल गरी कार्यान्वयन गरिने जानकारी दिँदैं उहाँले चाडपर्वमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिने बताउनुभयो ।
भक्तपुरमा भर्खरै कार्यभार सम्हाल्नु भएकी शर्माले कर्मचारी जनताका सेवक भएकाले कार्यालय समय १०–५ को ड्युटीमा सिमित हुन नहुने बताउनुभयो । भक्तपुर क्षेत्रफलले सानो जिल्ला भएपनि यहाँका मौलिक कला सँस्कृति, विश्व सम्पदा सुचीकृत सम्पदा, चावपर्व जात्राले भरीपूर्ण धनी जिल्ला भएकोले विशेष महत्व रहेको बताउनुभयो ।
उहाँले गुल्मीलाई कार्यसम्पादनको मूल्यांकनमा देशकै तेस्रो उत्कृष्ट जिल्ला बताउन सफल भएको जानकारी दिँदैं उहाँले शान्ति सुरक्षाको दृष्टिले भक्तपुरलाई सर्वोत्कृष्ट जिल्ला बनाउनेमा आफ्नो भरपुर प्रयास रहने प्रतिवद्धता जनाउनुभयो ।
भक्तपुरमा ठूला अपराधिक घटना तुलनात्मकरुपमा कम देखिएपनि चोरी, लागु औषध, तस्करी, महिला हिँसाका घटना बढी रहेको पाईएकाले यसलाई नियन्त्रणका लागि ठोस कदम चालिने बताउनुभयो ।


उहाँले शहरी क्षेत्र र ग्रामिण भेगका विपतका घटनाका प्रकृति फरक फरक हुने भएकाले कोभिड– १९ महामारीलगायत प्राकृतिक विपत्तीका घटनासँग जुध्न प्रभावकारी योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले कोभिड १९ विरुद्ध जारी खोपको अनुगमन गर्ने र पहुँचका आधारमा नभई लक्षित वर्गले पाउने सुनिश्चितता प्रदान गर्ने बताउनुभयो ।
प्रजिअ शर्माले सामाजिक मुद्दामा सकारात्मक पहल गर्ने, जिल्ला प्रशासन कार्यालयलाई सञ्चारमैत्री बनाईने, सूचनाको हकको कार्यान्वयनको लागि सबै सरकारी निकाय र विषयगत कार्यालयलाई पनि सोही अनुसार पारदर्शी बनाईने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि पत्रकारहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पछिल्लो समय सिडिओ र एसपीलाई स्वागत गर्ने बहानामा प्रभावित पार्ने र आफ्नो अभिष्ट पूरा गर्ने व्यक्ति र समूहसँग सतर्क रहन सिडिओ शर्मालाई सुझाव दिनुभयो ।
उहाँले भक्तपुरको शान्ति सुरक्षा कायम राख्ने र नागरिकको हक सुरक्षित गर्ने सवालमा महासंघ प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटमा अध्यक्ष प्रजापतिले महासंघको भवन निर्माणलगायतका गतिविधि प्रजिअ शर्मालाई जानकारी गराउनुभएको थियो ।
त्यसैगरी महासंघका सचिव एवं भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे ‘शुभचिन्तक’ले प्रजिअ जिल्लाकै प्रशासन प्रमुख भएकाले जनताले अनुभुती गर्नेगरी जिल्लास्थित सरकारी निकायको सेवा सरल र सहज बनाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
प्रतिनिधि मण्डलमा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पुर्वअध्यक्ष विकल प्रसाद श्रेष्ठ र कार्यसमिति सदस्य राम तमाखुलगायतको सहभागिता रहेको थियो भने छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र प्रशासकिय अधिकृत यज्ञराज  जोशीको पनि सहभागिता रहेको थियो ।