मध्यपुर थिमिलाई जापानी प्रविधिको रिकीसी कम्पोष्ट मलको एसियाकै तालिम केन्द्रको रुपमा विकास गर्ने

भक्तपुर, भाद्र ३०
मध्यपुर थिमि वडा नं. ४ मा सञ्चालित जापानी प्रविधिको रिकीसी कम्पोष्ट मल उत्पादन केन्द्रलाई एसियाकै तालिम केन्द्रकोरुपमा विकास गर्ने भएको छ । मध्यपुर थिमि नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रले थिमिमा आयोजित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकीसी कम्पोष्ट मल प्रविधि बारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
केही समयपछि श्रीलंका र बंगलादेशको टोली रिकीसी कम्पोष्ट मल प्रविधिबारे अध्ययनका लागि आउने जानकारी दिँदैं उहाँले फोहोरको उचित व्यवस्थापन गर्न सके मोहर कमाउन धेरै समय नलाग्ने उत्कृष्ट र नमूना योग्य उदाहरण रिकीसी कम्पोष्ट मल भएको बताउनुभयो । उहाँले केन्द्रले मल उत्पादन शुरु भए यता ३ करोड भन्दा बढीको मल बिक्रि गरिसकेको जानकारी दिनुभयो ।


नमूना परियोजनाको रुपमा शुरु गरेको केन्द्रलाई नगरका ९ वटै वडामा बिस्तार गर्ने लक्ष्य रहेको र फोहोरको उचित व्यवस्थापन गर्न सके नगरको फोहोर नगरभित्रै व्यवस्थापन हुने उदाहरण रिकीसीको सफल प्रयोगले दिएको उहाँले बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरबृद्धिले कोरोना महामारीमा सर्वसाधारणले सहज र सरल स्वास्थ्य सेवा प्राप्त गरेको दावी गर्नुभयो । अस्पताललाई नगरपालिका मातहत ल्याएपछि ल्याव, शैयाको संख्या बृद्धि, आईसीयु, हाइकेयर युनिट, अक्सिजन प्लान्टको निर्माण, भेन्टिलेटरलगायतको सेवा बिस्तारले अस्पताललाई जिल्लाकै उत्कृष्ट अस्पतालको रुपमा विकास भएको दावी गर्नुभयो ।
उहाँले नगरपालिकाभित्र समानता र समानुपातिकरुपमा सबै क्षेत्रको विकास भएपनि सम्पदा क्षेत्रको मात्र बढी चर्चा भएकोले ढल, सडक सुधारलगायतमा नगरपालिकाको ध्यान जान नसकेको हो की भन्ने जनगुनासो आउने गरेको चर्चा गर्दै नगरप्रमुख श्रेष्ठले सम्पदा क्षेत्रमा भन्दा कयौं गुणाबढी काम सडक र ढलको व्यवस्थापनका काम सम्पन्न भएको तथ्य प्रस्तुत गर्नुभयो ।


नगरप्रमुख श्रेष्ठले संघीयताको मर्म अनुसार स्थानीय तह सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका मध्यपुर थिमि भएको दावी गर्दै नगरपालिकाले संघीय र प्रदेश सरकारका संघीयता विरोधी निर्देशनहरुलाई ठाडै अस्विकार गर्ने गरेको जानकारी दिनुभयो । उहाँले कर्मचारी समायोजनका क्रममा अनावश्यक कर्मचारी नलिने अडानलाई मन्त्रालयले स्वीकार्न बाध्य भएको बताउनुभयो ।
उहाँले स्थानीय सरकार सञ्चालन ऐनको मर्म अनुसार प्रशासकहरुले काम गर्न नसक्दा विगतमा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतसँग समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको स्थानीय स्वायत्त शासन ऐनका प्रावधानसँग घुलमिल भएका प्रशासकहरु स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्न नसक्दा विगतमा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतसँग समस्या उत्पन्न भएको थियो । अहिले त्यस्तो समस्या छैन ।”
कार्यक्रममा नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको विकासमा सबै जनप्रतिनिधिहरुको योगदान रहेको चर्चा गर्दै सञ्चारकर्मीहरुले सबै काम नगरप्रमुख एक्लैले गरेको जस्तो गरी समाचार सम्प्रेशन गर्ने गरेको भन्दै गुनासो गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिन थालेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले नगरपालिकामा जनप्रतिनिधिहरुको बहालीसँगै सम्पदा पुनःनिर्माण, स्वास्थ्य र फोहोर व्यवस्थापनमा नमूना योग्य काम भएको बताउनुभयो ।


कार्यक्रममा रिकीसी कम्पोष्ट मल उत्पादन केन्द्रका प्रमुख उषा गिरीले चितवनको राप्ती, सिन्धुलीको दुधौली, काभ्रेको पाँचखाल, भक्तपुरको भक्तपुर र काठमाण्डौंको चन्द्रागिरी नगरपालिकाले पनि रिकीसी कम्पोष्ट मल उत्पादन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका प्रमुख डा. ज्ञानकृष्ण कायष्ठले अस्पतालले गतवर्ष प्रदान गरेका सेवाबाट लाभान्वितको संख्या, अस्पतालमा उपलब्ध सेवा, स्वाथ्यकर्मी र कर्मचारीहरु, सेवा विस्तारका योजनालगायतको विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले अस्पतालमा आउने बिरामीको करिव ८० प्रतिशत हिस्सा स्वास्थ्य बिमाका लाभग्राही आउने गरेको जानकारी दिँदैं सरकारले समयमा स्वास्थ्य बिमाको रकम निकासा नदिँदा कर्मचारीलाई तलव खुवाउन, आवश्यक औषधी र स्वास्थ्य उपकरण खरिदमा समेत समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका योजना महाशाखाका प्रमुख ईं सत्यनारायण शाहले नगरपालिकाले विगत चार वर्षमा सम्पन्न गरेका विकास निर्माणका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । उहाँले आर्थिक वर्ष २०७४⁄०७५ देखी २०७७⁄०७८ सम्म नगरपालिकाले सम्पदातर्फ सत्तल, मन्दिर, बिहार, लायकु दरवार, पोखरी, प्रवेशद्धार, पाटी, ढुंगेधारा, घाट सुधारलगायतका कार्यमा ३७ करोड ४३ लाख ८२ हजार, भवनतर्फ वडा कार्यालय, सामुदायिक, हेल्थपोष्ट, अस्पताल भवन निर्माण तथा मर्मत कार्यमा २१ करोड ८४ लाख १८ हजार, खानेपानी र इनार ममर्तमा ४ करोड ५७ लाख ८५ हजार, बाटो, सडक, पुल, ढल, ढुंगा छपाईमा ५९ करोड, ८२ लाख ५१ हजार खर्च भएको जानकारी दिनुभयो ।
उहाँले पार्क निर्माण र खेलकुदमा १३ करोड, २५ लाख २१ हजार, सडक बत्तिमा ७७ लाख ९० हजार, भूक्षय नियन्त्रण, टेवा पर्खाल निर्माणमा ९ करोड २८ लाख ६४ हजार खर्च भएको बताउनुभयो ।
त्यस्तै नेपाल आर्थिक पत्रकार समाज (सेजन)का निवर्तमान अध्यक्ष भिम गौतमले विकास पत्रकारिताका बारेमा प्रस्तुतीकरण गर्दै विकास पत्रकारिताका विविध पक्षको जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुष्कर बुढाथोकी, केन्द्रका सचिव हेमराज ढकालले मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेका विकासका योजनाका बारेमा चर्चा गर्नुभएको थियो भने सेजनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।