निपा भाइरस ः नेपालमा पनि सावधान हुन आग्रह, संक्रमणबाट कसरी जोगिने

भक्तपुर, भाद्र ३१
छिमेकी भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा कसैमा संक्रमण भएको पुष्टि भएको छैन । तर देशका ११८ अस्पताल र स्वास्थ्यसंस्थामा शंकास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
भारतको केरलास्थित कोझिकोडेमा एक १२ वर्षे बालकको ज्यान गएपछि नेपालले पनि सतर्कता बढाइएको हो । बिज्नस स्ट्यान्डर्ड पत्रिकाका अनुसार भारतमा थप दुई जनामा निपा भाइरसको संक्रमण पुष्टि भएको छ ।
सन् २०१८ को मे महिनामा पनि केरलामा निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस बेला त्यहाँ १७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो ।
निपा भाइरस के हो ?
एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ । उक्त भाइरस प्राकृतिक रूपमा ‘फ्रूट ब्याट’ जातको चमेरोमा पाइने बताइएको छ । मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा संक्रमण गराउँछ । सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ ।


भारतको पश्चिम बङ्गाल र बंगलादेशमा उक्त भाइरस देखा परिसकेको र पछिल्लो समय दक्षिण भारतको केरलामा भाइरस फेला परेसँगै नेपालमा पनि सतर्कता बढाइएको अधिकारीहरू बताउँछन् । भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई ‘जूनोटिक’ रोगको वर्गमा राखिएको छ ।
प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा संक्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ । यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा सर्न सक्छ । त्यसैले कोभिड महामारीमा जस्तै मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड महत्वपूर्ण मानिन्छ ।
संक्रमित जनावरको तरल पदार्थसँग संसर्गमा आएका जुनै उमेर समूहका मानिसलाई प्रभाव पर्ने बताइएको छ । भारतमा संक्रमण फैलाउने चमेरो नेपालमा पनि पाइने, सुँगुरपालन कृषकको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सर्न सक्ने हुँदा नेपाल जोखिममा रहेको डा. शेरबहादुर पुन बताउँछन ।
त्यसै कारण पनि नेपालमा भाइरस आउन सक्ने सम्भावना भएका ठाउँमा अहिल्यै सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन ।
लक्षण के हुन ?
निपा भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र मानिसहरू छिट्टै बेहोस जस्तो गराउने र एकदमै छिटो गम्भीर अवस्थामा भाइरसले पुर्याउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
त्यसबाहेक रिँगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलको सुजन पनि प्रमुख लक्षणमध्ये रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । भारतसँग नेपालको खुला सीमा रहेकाले यसको जोखिम नेपालमा रहेको बताइन्छ ।
यसको उपचार छ कि छैन ?
मन्त्रालयका अनुसार यो भाइरसको संक्रमणको निश्चित उपचार छैन । यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन । तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
भाइरसबाट बच्नका लागि बिरामी पशुपक्षीनजिक नजाने र पशुपक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्ने हुन्छ । त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खानुपर्ने हुन्छ । सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
गाईबस्तुका गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको रोकथाम गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
कोभिड र निपा भाइरस कसरी छुट्टाउन सकिन्छ ?
प्रारम्भिक लक्षणले कोभिड वा निपा भाइरसमध्ये कुनबाट मानिसहरू संक्रमित भएका हुन भन्ने कुरा थाहा नहुन सक्ने अधिकारीहरू बताउँछन् । तर निपा भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने सम्भावना रहन्छ । यो भाइरस सरेपछि बिरामीले काम्ने गरेको पनि पाइएको छ ।
“कुन हो भनेर पत्ता लगाउने त फेरि पनि स्वास्थ्यकर्मी र अस्पतालहरूकै काम भयो,’’ पौडेलले भन्नुभयो, “सर्वसाधारणहरूलाई ज्वरो कम भएन, शरीर दुख्ने भयो, छिटै गम्भीर जस्तो अवस्था भयो भने छिटै अस्पताल जानुपर्यो ।’’


देशभरिका ११८ अस्पताल र स्वास्थ्यसंस्थालाई निदान गर्न गाह्रो छ भने नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा यो भाइरसको परीक्षण गर्नका लागि आवश्यक पूर्वाधार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै उपलब्ध रहेको सरकारी भनाइ छ । निपा भाइरस तीव्र गतिमा फैलिन सक्ने भनिए पनि कोभिडसँग तुलना गर्दा भने त्यो गति केही सुस्त रहेको डा. पुन बताउँछन् ।
“आजको मितिसम्म एकदमै धेरै सर्दै गएर भूगोल पनि पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा गएको खासै देखिएको छैन । त्यो कारण कोरोनाभाइरसको तुलनामा आजको मितिसम्म सर्ने क्षमता देखिएको पुष्टि चाहिँ हुँदैन,” पुनले भन्नुभयो ।
नेपालका लागि निपा भाइरस कत्तिको चिन्ताको विषय हो ?
यद्यपि यसको प्रकोप चिन्ताको विषय भने रहेको पौडेल बताउँछन् । संक्रमित मानवबाट मानवमा भाइरस सर्न सक्ने हुँदा पनि सचेत रहनु जरुरी रहेको उनी बताउँछन् ।
“किनभने यसको मृत्युदर उच्च छ । संक्रमितमध्ये दुई जनामा एक जनाको मृत्यु हुन सक्छ । कुनै अध्ययनले त ७५ प्रतिशतसम्म मृत्यु हुनसक्ने भन्छ । त्यो भनेको उच्च हो,” उहाँले भन्नुभयो ।
संक्रमितको मृत्यु हुनसक्ने सम्भावनाबाहेक यो भाइरसले लामो समयसम्म स्वास्थ्यसम्बन्धी समस्या पनि पार्न सक्ने अध्ययनहरूले देखाएको डा. पुन बताउँछन् । भाइरसबाट संक्रमित भएका २० प्रतिशतमा पछिसम्म कुनै न कुनै किसिमको समस्या देखा पर्न सक्ने अध्ययनहरूले देखाएको उहाँको भनाइ छ । त्यसमा नसा सम्बन्धी समस्या पनि देखिने गरेको अनुसन्धानहरूले देखाएको उहाँले बताउनुभयो ।
स्रोत ः विश्व स्वास्थ्य सङ्गठन
बिबिसी नेपाली सेवाबाट साभार