नेपाली कांग्रेस सूर्यविनायक नगरसभापतिमा ढुंगेल र राणा भिड्ने

भक्तपुर, भाद्र ३०
नेपाली कांग्रेस भक्तपुरको वडा अधिवेशन सम्पन्न भएसँगै नगरसभापतिका आकांक्षीहरु खुल्न थालेका छन । कांग्रेस विधानमा क्रियाशील सदस्यले नगर अधिवेशनमा भाग लिन पाईने व्यवस्था भएपनि निर्वाचन निर्देशिकाले क्षेत्रीय प्रतिनिधिले मात्र भाग लिन पाईने व्यवस्था गरेपछि वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन गरेसँगै नगरसभापतिका आकांक्षीहरु क्षेत्रीय प्रतिनिधिहरुको लेखाजोखा गर्दै नगरको नेतृत्व हत्याउने दाउमा सक्रिय भएका हुन ।
यसैक्रममा सूर्यविनायक नगर समितिको नेतृत्व हत्याउन जिल्ला सचिव समेत रहनुभएका निशान ढुंगेल र सूर्यविनायक नगर समितिका उपसभापति समेत रहनुभएका रवि राणा अघि सरेका छन । ढुंगेल कांग्रेस संस्थापन पक्ष सभापति शेरबहादुर देउवाको पक्ष र राणा संस्थापन इत्तर पक्षका हुन ।


सभापतिका दुवै आकांक्षीले पदाधिकारीसहितको प्यानल समेत सार्वजनिक गरेका छन । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमीर ढुंगाना र सुरेश केसी प्रतिष्पर्धामा छन । त्यसैगरी ढुंगेलको समूहबाट दुई जना क्षेत्रीय प्रतिनिधिको लागि अम्बिका थापा र शशि बस्नेतले प्रतिष्पर्धा गर्नेभएको छ ।
यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दैछन ।
सूर्यविनायकको नगरसभापतिका आकांक्षी ढुंगेलले आफुले नगरको भौगोलिक, क्षेत्रीय, जनजाती र नगरका नयाँ बस्तीका कांग्रेसलाई समेत समेट्ने गरी प्यानल निर्माण गरेकोले जित सुनिश्चित भएको दावी गर्नुभयो । उहाँले कांग्रेसको यो पटकको अधिवेशन कांग्रेसलाई भक्तपुरमा पहिलो पार्टीका रुपमा स्थापित गर्न आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक स्थानमा जित दिलाउने लक्ष्य र उद्देश्यका साथ अघि बढेको बताउँदैं सो लक्ष्य र उद्देश्य प्राप्तिका लागि नगरपालिकाभित्र सैद्धान्तिक र सांगठनिकरुपमा सशक्त पार्टी बनाउन आफु नगरसभापतिको आकांक्षी बनेको बताउनुभयो । “नगरका अग्रज र युवा नेताहरुलाई संयुक्तरुपमा व्यवस्थित तवरले सक्रिय बनाउन सके सूर्यविनायकमा कांग्रेसको संगठन थप सशक्त हुन सक्छ र यसका लागि आफुलाई उपयुक्त छु भन्ने साथीहरुको सल्लाह र विश्वासका साथ नगरसभापतिमा रहेर काम गर्न उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो ।


उहाँले पार्टीलाई सशक्त बनाउन जुनसुकै तहमा बसेर पनि काम गर्न सक्नुपर्छ भन्ने सन्देश दिन पनि यसपटक सूर्यविनायकको नगरसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो । “हामी सबैले माथिल्लो तहमा मात्र बस्ने, सोही अनुसारको पदको मात्र आकांक्षा राख्ने होइन । हामीले तल्लो तह (ग्रासरुट)मा रहेर पनि काम गर्ने बानी बसाल्नुपर्छ र आवश्यक परे तयार पनि हुनुपर्छ । त्यसकारणले पनि मैले ग्रासरुटमा बसेर संगठनको काम गर्ने निर्णय लिएको हुँ,” उहाँले भन्नुभयो, “मलाई विश्वास छ, मेरो यो लक्ष्य र प्रस्तावलाई पार्टीका साथीहरुले साथ दिनेछ ।”
यता नगरसभापतिका अर्का आकांक्षी राणाले पार्टीमा युवा नेतृत्व विकासका लागि आफुले नगरसभापतिको दावेदारी प्रस्तुत गरेको बताउनुभयो । उहाँले पार्टीमा युवाहरुलाई मौका दिनुपर्ने बताउँदैं माथिल्लो तहका नेताहरुले तल्लो तहको नेतृत्व दावी गर्दा पार्टीमा युवा पिँढीले मौका नपाउने र त्यसले नेतृत्व विकासमा समेत वाधा उत्पन्न हुने तर्क गर्नुभयो ।
भक्तपुरमा कांग्रेसको वडा तहदेखी जिल्लासम्मको नेतृत्वको कमजोरीले विगतका स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस पराजित भएको आरोप लगाउँदै राणाले ती कमीकमजोरीलाई चिर्दै वडादेखी नगर, क्षेत्र र जिल्ला तहसम्म सवल र सक्षम नेतृत्व विकास गरी आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई जित दिलाउन आफुले नगरसभापतिमा उम्मेदवारी प्रस्तुत गरेको बताउनुभयो ।
“मैले एक कार्यकाल सूर्यविनायक नगरसभापतिको रुपमा कार्य गरिसकेको कारण पनि अहिले नगरसभापतिको दावी गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले आफुले गरेका समाजसेवाका कार्य, २०७२ सालको भूकम्प पिडित, हालैको कोरोना महामारीका बेला असाह्य, न्यून आय भएका ज्यालादारी मजदुर, असशक्त र अपांगता भएकाहरुलाई गरेको सहयोग र कांग्रेसलाई सशक्त बनाउन विगतको क्रियाशीलतालाई पनि कांग्रेसका नेता कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरुले सहर्ष स्वीकार गरेर मत दिने विश्वासका साथ नगरसभापतिको दावी प्रस्तुत गरेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका १० वटा वडाको अधिवेशनले १० जना वडासभापति र पदेन प्रतिनिधिसहित २८५ जना क्षेत्रीय प्रतिनिधिहरु रहेका छन । दुवै समूह अहिले भेला र कोठे बैठकगरी क्षेत्रीय प्रतिनिधिहरुलाई आफ्नो पक्षमा ल्याउने कसरत गर्दै आएका छन । दुवै समूह विभिन्न सुत्रहरुको प्रयोग गरी मत बढाउन लागि परेको कांग्रेस स्रोतले जानकारी दिएको छ । दुवै पक्षले नतिजा आफ्नो पक्षमा आउने दावी गरेका छन ।
कांग्रेसको नगरपालिका तथा गाउँपालिकाको अधिवेशन असोज ९ गते हुने तालिका रहेको छ ।