विश्वराम कवांको ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

भक्तपुर, भाद्र २६
भक्तपुरका सफल व्यवसायी विश्वराम कवांले आफ्नो जीवनीमा आधारित पुस्तक ‘मेरो जीवन यात्रा’ प्रकाशन गरेको छ । पुस्तकमा लेखकले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका विभिन्न पक्षहरुकाबारेमा बयान गर्नुभएको छ ।
पुस्तक ६ खण्डमा विभाजित छ । पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां तथा व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् ।
शुरुमा शिक्षण पेशा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित व्यवसायीमा गनिन्छन् । शिक्षण पेशाबाट सेवा निबृत भएपछि उहाँले व्यवसायिक जीवन शुरु गर्नुभएको थियो । यो वीचमा उहाँ खेलकुद क्षेत्रमा पनि सक्रिय बन्नुभयो । साथै उहाँ समाजसेवामा पनि सक्रिय बन्नुभयो । पुस्तकमा उहाँले आफ्ना जीवनका यिनै पक्षहरुकोबारेमा चर्चा गर्नुभएको छ ।
पुस्तकमा कवांको बारेमा विभिन्न क्षेत्रका नौ जना लेखेका लेखहरु पनि समावेश गरिएको छ । पुस्तकमा कवांको खेलकुद जीवनकोबारेमा रवीन्द्र खर्वुजा, शिक्षण पेशाकोबारेमा डा. किशोर हाकु दुवाल, सामाजिक कार्यकोबारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले लेखेका लेख समावेश गरिएको छ ।
पुस्तकको शनिवार विमोचन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको जीवनमा आधारित पुस्तक समाजका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका कवां हाल ६१ वर्षका हुनुहुन्छ । लेखक कवांले पुस्तक विक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघलाई सहयोगार्थ प्रदान गर्ने जानकारी दिनुभयो ।
पुस्तक एक सय ४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए । विमोचन समारोहमा विभिन्न व्यक्तित्वहरुले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए ।