मध्यपुर थिमिको वडा नं. १ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान शुरु

भक्तपुर, भाद्र २१
नेपाली कांग्रेस मध्यपुर थिमि नगर वडा नं. १ इकाई समितिको नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयनका लागि आज मतदान शुरु भएको छ । दुई समूहबीच नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयनमा सहमति हुन नसकेपछि सोमवार निर्वाचन भएको हो ।
बिहान सवा १२ बजे शुरु भएको मतदान बेलुकी ६ बजेसम्म जारी रहने मतदान अधिकृत अनिष सुवालले बताउनुभयो । यस वडामा कांग्रेसका नयाँ र पुराना गरी ४३२ जना क्रियाशील सदस्य रहेको छ । यस वडामा कांग्रेसका पूर्व केन्द्रीय सदस्य मनमोहन भट्टराई यसै वर्ष सदस्य स्थानान्तर भएर आउनुभएको छ भने गत १३ औं महाधिवेशनमा जिल्ला सभापतिका प्रत्याशी अष्ट कवे पनि यसै वडाका क्रियाशील सदस्य हुनुहुन्छ ।

यस वडामा कांग्रेस जिल्ला कार्यसमितिका सदस्यद्धय केदार खड्का र गोकुल शर्मा पनि क्रियाशील सदस्य हुनुहुन्छ । खड्का जिल्ला प्रचार शाखाका संयोजक र शर्मा संगठन शाखाका संयोजक पनि हुनुहुन्छ ।
वडा सभापतिको लागि विजयकृष्ण खड्का र रत्न कुमाल प्रतिष्पर्धामा छन । खड्काको समूहबाट उपसभापतिमा दिलकृष्ण प्रजापति र कृष्ण पंगेनी, सचिवमा सुरेश बस्नेत र अक्षय कवे, सहसचिवमा रोशन कवे र संजिव डंगोल प्रतिष्पर्धामा छन ।
त्यस्तै कुमालको समूहबाट उपसभापतिमा विष्णुहरी बिष्ट, सिताराम ठकुरी, सचिवमा राजकृष्ण प्रजापति, सहसचिवमा कुलबहादुर थापा प्रतिष्पर्धामा छन ।