यसवर्ष पनि पञ्चदान पर्व औपचारिकतामा सीमित

भक्तपुर, भाद्र २१
भक्तपुरका बौद्धमार्गीहरुले आइतवार पञ्चदान पर्व औपचारिकतामा सिमित गरी बिहारमा बुद्धको पुजा गरी मनाएका छन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाएको हो ।
कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै पञ्चदान पर्वलाई सामान्य औपचारिक पूजामा सीमित गरी मनाईएको थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।
उहाँले पञ्चादन पर्व मनाउन बुद्धलाई बिहार ल्याए बढी भीड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने खतरा बढेकाले बिहारभित्र पूजा गरी मनाएको बताउनुभयो । उहाँले भन्नुभयो “आजको पर्वमा देवतालाई बाहिर ल्याई नगरका मात्र नभई सबै गुठियारहरुको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भिड बढी हुने भएको संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यसवर्ष पनि गएको वर्षमा जस्तै सामान्य औपचारिकतामा सीमित गरिने निर्णय भए अनुसार पञ्चदान मनाईएको हो ।”


बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारहरुमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ ।
दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारका रहेका छन् ।
पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, कांक्रो, क्वाटी आदि गच्छे अनुसार चढाउने परम्परा छ ।
पञ्चदानलाई स्थानीय भाषामा पंजरां भनिन्छ । पंजदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।