भक्तपुरमा कांग्रेसको वडा अधिवेशन शुरु, जिल्लाका ३८ वडामा ९८८ प्रतिनिधि चयन हुने

भक्तपुर, भाद्र १८
नेपाली कांग्रेस भक्तपुरको अधिवेशन आज (शुक्रवार)देखी शुरु भएको छ । भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा एक साथ कांग्रेसको स्थानीय पालिकाको वडा तहको अधिवेशन शुरु भएको हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भक्तपुरका स्थानीय पालिकाको वडा तहको अधिवेशन शुरु भएको जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो । उहाँका अनुसार आज ३८ वटै वडामा वडा इकाइ कमिटिको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुको लागि मनोनयन दर्ता हुनेछ । वडामा सर्वसम्मत नेतृत्व चयन नभए यही २१ गते आइतवार निर्वाचन हुने तालिका रहेको छ ।
भक्तपुरका चार स्थानीय तह मध्ये भक्तपुर र सूर्यविनायक नगरपालिकामा १०÷१० तथा मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा ९÷९ वटा वडा रहेका छन ।
अधिवेशनबाट प्रत्येक वडामा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र १३ जना सदस्य सहित २० सदस्यीय कार्यसमिति निर्वाचित हुने छ । कार्यसमितिको कोषाध्यक्ष भने इकाई सभापतिको प्रस्तावमा निर्वाचित सदस्यहरु मध्येबाट निर्वाचित गरिन्छ ।
कांग्रेसको विधान अनुसार प्रत्येक वडाबाट क्रियाशील सदस्य संख्याको आधारमा दुई तिहाइ महिलासहितको क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । पालिकाको सभापतिदेखी माथिल्लो समितिमा उम्मेदवार हुन र पालिका देखी जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरु चयनका लागि क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछ ।
कांग्रेसको वडा तहबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुको अहम् भूमिका रहेको छ । त्यसैले जिल्लाका नेतृत्वको ध्यान यतिखेर पालिकाका वडा वडामा केन्द्रीत भएको छ । जिल्ला सभापति बन्न पनि क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने अनिर्वाय व्यवस्थाले नेताहरुको ध्यान वडाको प्रतिनिधि चयनमा बढी केन्द्रीत भएको कांग्रेस नेताहरु बताउँछन ।
‘वडा वडाबाट निर्वाचित हुने प्रतिनिधिको अनुहारले पनि पालिकाको नेतृत्व चयनको खाका स्पष्ट हुने भएकाले नेताहरुको ध्यान वडामा केन्द्रीत भएको हो,’ एक कांग्रेस नेताले भन्नुभयो ।
भक्तपुरका ३८ वडाबाट वडा सभापतिसहित ९८८ जना जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । त्यसमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ बाट वडा सभापतिसहित ६६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।
भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकाबाट वडा सभापतिसहित ३२४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । जसमध्ये वडा नं. १ बाट ३६, २ बाट १६, ३ बाट ३६, ४ बाट ६६, ५ बाट ४६, ६ बाट ४६, ७ बाट ३६, ८ बाट १६ र ९ बाट २६ जना प्रतिनिधि चयन हुनेछ ।
त्यसैगरी सूर्यविनायक नगरपालिकामा वडा नं. १ मा २६, वडा नं. २ मा ३६, वडा नं. ३ मा २६, वडा नं. ४ मा २६, वडा नं. ५ मा ४६, वडा नं. ६ मा २६, वडा नं. ७ मा १६, वडा नं. ८ मा १६, वडा नं. ९ मा १६ र वडा नं. १० मा २६ गरी २६० जना प्रतिनिधि चयन हुनेछ ।
जिल्लामा भक्तपुर नगरपालिकामा सबैभन्दा कम क्षेत्रीय प्रतिनिधि चयन हुने छ । यहाँको १० वटा वडामा प्रत्येकमा वडा सभापतिसहित १६ जना गरी कुल १६० जना प्रतिनिधि चयन हुनेछ।
चाँगुनारायण नगरपालिकामा २४४ जना प्रतिनिधि चयन हुनेछ । जसमध्ये वडा नं. १ मा ३६, वडा नं. २ मा १६, वडा नं. ३ मा २६, ४ मा २६, ५ मा ३६, ६ मा १६, ७ मा २६, ८ मा ३६ र ९ मा २६ जना छन ।