अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग रोकियो

भक्तपुर, भाद्र १९
भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । काठमाण्डौंको दशरथ रंगशालामा बिहिवार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल एक गोलको अग्रता जोगाउन नसक्दा अन्ततः भारतसँग बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले खेलमा ३६ औं मिनेटमा अञ्जन बिष्टको गोलले अग्रता लिएको थियो । अञ्जनले भारतीय खेलाडीको गल्तीको फाइदा उठाउँदैं गोल गर्न सफल भएका थिए । भारतका चिनलेनिना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।


भारतले खेलको ६० औं मिनेटमा सब्सिच्युट अनिरुद थापाको गोलको सहायताले खेललाई बराबरीमा ल्याए । भारतिय कप्तान सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई नेपाली कप्तान गोलरक्षक किरणले पञ्च गर्दै बचाएपनि उनीसँगै रहेका सब्सिच्युट अनिरुदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।


यसअघि खेलको चौथो मिनेटमा अञ्जन गोल गर्नबाट चुकेका थिए । उनको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सहजै नियन्त्रणमा लिए । खेलको २४औं मिनेटमा ब्रनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे । २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले भेटाउन नसक्दा नेपालले मौका सिर्जना गर्न सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा सुमन लामालाई फउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जनको प्रहार अकासियो ।


दोस्रो हापको ५०औं मिनेटमा गोलरक्षक किरणले गल्ती गर्दा भारतले पाएको फ्रिकिकलाई किरणले नै खतराबाट बचाए । ७९औं मिनेटमा विशाल राईले नेपाललाई पुनः अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । मनिष डाँगीको क्रसमा पेनाल्टी बक्समा प्राप्त सुवर्ण अवसरमा विशालले प्रहार फितलो बन्दा नेपालले पुनः अग्रता लिने अवसर गुमाएको थियो । ।
यस् दुई टोलीबीचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको छ । साफ च्याम्पियनसिप अर्काे महिना माल्दिभ्समा आयोजना हुदैछ ।