शासक दलले आफ्ना कार्यकतालाई लोभ फसाउन खोजेको अध्यक्ष बिजुक्छेंको आरोप

भक्तपुर, भाद्र १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आफ्ना कार्यकताहरुले शासक दलहरुले लोभ फसाएर सिद्धान्तच्युत गर्ने चेष्टा गरिरहेको आरोप लगाउनुभएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा एकाई समितिले बुधवार आयोजना गरेको ‘भक्तपुर काण्ड र वर्तमान समसामयिक राजनैतिक विषयक’ प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नेमकिपाका नेता कार्यकर्ताहरु आफ्नो सिद्धान्तमा अडिग रहने भएकाले अनेक प्रलोभन दिएर शासक दलहरु सिद्धान्तच्युत गर्न लागि परेको आरोप लगाउनुभएको हो ।
उहाँले जनताको बीचमा गएर सेवा गर्ने र श्रमिक जनतालाई पुँजीवादी विचारबाट जोगाउने नीति नै लेनिनवादी नीति भएको बताउनुभयो । उहाँले कर्मचारीहरु पुँजीवादी प्रवृत्तिबाट टाढा रहन सकेमात्र जनताको निःस्वार्थ सेवा गर्ने भावना अभिप्रेरित हुने बताउनुभयो ।


नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुर काण्डको भूमिकाबारे प्रष्ट पार्दै अध्यक्ष बिजुक्छेँले पञ्चायती शासकहरुबाट भएका दमन, षड्यन्त्र अगाडि नेमकिपाका नेता कार्यकर्ता कहिल्यै नझुकेको दावी गर्नुभयो ।
कर्मचारीहरुले आफ्नो स्तरवृद्धिमा ध्यान दिनुपर्ने, समयसापेक्ष तालिमहरु लिनुपर्ने र नयाँ नयाँ विषयहरुको अध्ययनमा जोड दिनुपर्ने बताउँदै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलन, भारतले सुस्तामा गरेको अतिक्रमणको विरोधलगायतका गतिविधि गरी नेमकिपाले देश र जनताको पक्षमा आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डलाई पञ्चायती सरकारको असफल राजनीतिक षड्यन्त्रको रुपमा चित्रण गर्नुभयो । नेमकिपाले प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायतका हरेक निर्वाचनलाई उपयोग गर्दै अगाडि बढेको स्मरण गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरुमा इमानदारिता र अनुशासनका साथै जनताको निःस्वार्थ सेवा गर्ने भावना हुनुपर्र्नेमा जोड दिनुभयो ।


शासक दलहरुले आफ्नो शासन टिकाउन अनेक किसिमका षड्यन्त्रहरु गरिरहनेतर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विचार र सिद्धान्तमा दृढ पार्टी भएकै कारण नेमकिपाविरुद्धको षड्यन्त्र सफल हुन नसकेको बताउनुभयो । भक्तपुर काण्डले सचेत र संगठित पार्न कार्यकर्ताहरुलाई पाठ सिकाएको बताउँदैं उहाँले कर्मचारीहरुले सुसंस्कृत र सभ्य व्यवहारले नगरबासीहरुको सेवा गर्न अभिप्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर काण्डमा भक्तपुरबासीहरुको अदम्य साहस, योगदान उल्लेखनीय भएको चर्चा गर्दै नयाँ पुस्तालाई यसले दिएको सन्देशबारे सुसूचित गर्दै लानु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डमा कर्मचारीहरुलाई जाली मुद्दामा फसाउन अनेक जालझेल गरेको बताउनुभयो ।