किटनाशक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढ्दो

लक्ष्मी गारु, भक्तपुर, भाद्र १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझाव अनुसार भिटामिनको प्रयोग गरेपनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गरेको बताउनुभयो ।
“बालीमा किरा वा रोग लागे सो अनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रासायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनु हुँदैन,” उहाँले भन्नुभयो ।
सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदैं विषादीकोरुपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताउनुभयो ।
अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एम.एल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम १ लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिनुभयो ।
त्यसैगरी चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रासायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताउनुभयो । उहाँले उपभोक्ताहरुले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रासायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानहरुले तरकारी बालीमा विषादी र रासायनिक मलको विकल्पमा जैविक मल र विषादी प्रयोग गर्न थालेका छन । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (इह्रिकन)ले भक्तपुरका ती दुई नगरपालिकामा गरेको अध्ययनले किसानहरु विषादी र रासायनिक मलको प्रयोगमा सचेत बन्दै गएको देखिएको हो ।
जिल्लाका ग्रामिण भेगमा गम्भिर प्रकृतिका नसर्ने रोग लागेका बिरामीहरुको संख्या बढ्न थालेपछि किसानहरुले तरकारी बालीमा विषादी प्रयोगमा कमी ल्याएको सो अध्ययनले देखाएको छ ।
“विगत पाँच वर्षको तुलनामा अहिले सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा लगाइएका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ,” इह्रिकनका कार्यक्रम व्यवस्थापक पंकज देवकोटाले भन्नुभयो, “तरकारीमा प्रयोग भएका विषादीले मानवीय स्वास्थ्यमा गम्भिर असर परेका विभिन्न समाचार, लेख रचना र सामाजिक सञ्चालबाट प्रचारप्रचार भएपछि स्थानीय किसानमा चेतना जागृत भएको छ ।”
विषादीको प्रयोगमा तुलनात्मकरूपमा कमी आए पनि निर्मूल भने हुन सकेको छैन । केही किसानहरुले बढी उत्पादन गर्ने लोभमा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादी अझै प्रयोग गरिरहेको पनि सो प्रतिवेदनले औंल्याएको छ । अध्ययनका क्रममा छोटो समयमा राम्रो मूनाफा खोज्ने किसानको प्रवृत्तिका कारण तरकारीमा अन्धाधुन्नरुपमा विषादीको प्रयोग भएको पाईएको देवकोटाले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका–६ का किसान लक्ष्मी के. सी.ले विषादी प्रयोग नगर्दा पर्याप्त उत्पादन नहुने धारणाले गर्दा गोलभेडा खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “टनेल खेतीमा अत्याधिक मात्रामा विषादी प्रयोग हुन्छ । त्यस्तै सबैभन्दा बढी माटोमा अम्लियपन हुनुको कारणनै झारमार्ने विषादीको प्रयोग बढी हुनु हो ।”
नेपाल सरकारले नुवान, झारनासक टिटाक्लोर, डाइकोरफास्ट, काउरोक्युरादेन लगायतका विषादीहरु रोक लगाइएको छ । अध्ययनका क्रममा चाँगुनारायण र सूर्यविनायकमा उक्त विषादीको प्रयोग नभएको पाइएको देवकोटाले बताउनुभयो ।
विषादीको प्रयोगले स्थानीय किसानले लगाएका बाली नालीहरुमा डडुवा, ढुसी, माटोको अम्लियपन बढ्दै गएकाले व्यवसायिक रूपमा लगाएका खेतीहरुमा समस्या आएको देवकोटाले बताउनुभयो । “किसानहरुले बालीनालीमा रासायनिक मल र विभिन्न किसिमका विषादीहरुको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा कमि आएकाले किसानहरुले रसायनिक मल भन्दा पनि स्थानीय कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
जैविक विषादीको प्रयोग बृद्धि गर्न किसानहरुलाई कृषि विषादी र किटनाशक औषधिसम्बन्धी तालिम तथा गोष्ठी आवश्यक भएको सूर्यविनायक नगरपालिका–७ स्थित साना किसान सहकारी संस्थाकी अध्यक्ष अम्बिका भण्डारी बस्नेतले बताउनुभयो । उहाँले विषादीको विकल्प नगरपालिकाले किसानलाई दिन नसकेको गुनासो गर्नुभयो ।
तरकारीमा रसायनिक विषादीको सट्टा जैविक विषादिको प्रयोग सम्बन्धमा नगरपालिकाले स्थानीय किसानलाई तालिम दिए पनि किसानले भने एग्रोभेटको सल्लाहमा विषादीको प्रयोग गर्ने गरेको चाँगुनारायण नगरपालिकाको कृषि शाखा प्रमुख मणिराम दवाडीले बताउनुभयो ।
कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ मा व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने उद्देश्य अनुरुप प्राङ्गारिक खेती प्रविधिद्धारा उत्पादित कृषिवस्तुहरूको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रवद्र्धन गरिने उल्लेख गरेपनि स्थानीय स्तरमा त्यस्तो व्यवस्था नभएको नीतिगत विष्लेषण पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा चाँगुनारायण नगरपालिकाको कृषि कार्यमा हुने विषादि प्रयोगलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम अगाडि बढाइने र सूर्यविनायक नगरपालिकाले कृषिलाई आधुनिकिकरण र व्यावसायिकरण गर्ने नीति लिएपनि सो अनुसार कार्यक्रम अघि बढाउन नसकेको बताईएको छ ।
स्थानीय स्तरमा नै प्राप्त गर्न सकिने जडिवुटी, कुहिएका केराबाट भिटामिन बनाउन सक्ने, सिस्नो, तितेपाती, बकाइनो र खुर्सानीहरु पिधेर विषादी बनाउन सकिन्छ तर यस सम्बन्धमा स्थानीय तहले जुनरुपमा पैरबी गर्नुपर्ने हो सो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाले नै स्थानीय कानुन निर्माणमा रसायनिक विषादीको विकल्प जैविक विषादी हो भनी उल्लेख गरी सोही अनुसार कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने र किसानलाई जैविक विषादीप्रति सचेत पार्दै जाने हो भने किसानमा जैविक विषादीप्रति आकर्षण हुन सक्ने देखिन्छ । यसका लागि नगरापालिकाले अभियान नै सञ्चालन गर्नुपर्ने इह्रिकनको प्रतिवेदनले औंल्याएको छ ।
त्यसैगरी जैविक विषादी र मलको प्रयोग बृद्धि गर्न माटोको उर्बराशक्ति परीक्षण गर्न स्थानीय स्तरमा माटो परीक्षणको व्यवस्था गर्नुपर्ने, किटनाशक औषधिको नियन्त्रण गर्नको लागि एग्रोभेटमा नै जैविक विषादीको प्रयोग बारे एग्रोभेट सञ्चालकहरुलाई प्रशिक्षण प्रदान गर्नुपर्ने आवश्यकता समेत प्रतिवेदनमा औंल्याएको छ ।