सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौंको नयाँबानेश्वरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै उपसभापति निधिले आफ्नै नेतृत्वमा आगामी तीन वटै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी समेत गर्नुभयो ।
उहाँले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, तराई, मधेशमा स्थापित गराउन आफुले सभापतिको उम्मेदवार बन्ने निर्णय गरेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी कसैको विरुद्ध लक्षित नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी कांग्रेसलाई आममतदाता र जनतासँग जोड्न हो । कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न र रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार बन्न खोजेको होइन ।”
उहाँले आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै सभापतिको उम्मेदवारीको उद्देश्य भएको बताउनुभयो ।
उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो ।
“कांग्रेस संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्छ ।”
उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।